मोहसिन अलि मियाँ/गोरखा
माघ ८ गते । प्रधानाध्यापक नियुक्तीमा विवाद भएपछि रत्नराज्य माविमा दुईदिन देखि पठनपाठन बन्द भएको छ । गोरखा नगरपालिका १० बिरेनचोकमा रहेको रत्नराज्य माविमा प्रधानाध्यापकलाई जवरजस्ती हटाउन खोज्दा विद्यालयमा तनाव उत्पन्न भएपछि पठनपाठन बन्द भएको हो । हाल प्रअको जिम्मेवारी सम्हालिरहेकी सरला देवकोटालाई पदबाट हटाउन भन्दै आइतबार विद्यालयमा एक समुह प्रवेश गर्दा तनाव उत्पन्न भएको थियो । जबरजस्ती पदबाट हटाउन एक समुहले प्रअको कार्यकक्षबाट गलत्याएर निकालेपछि सोमबार उनी सहित १२ जना शिक्षकको टोली पढाउन नसकेको भन्दै सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरेको छ । आइबतार गैरअभिभावक परिचालन गरी प्रअ देवकोटामाथी भएको अभद्र र दुरब्यवहारको बिरोधमा शिक्षकहरु पठनपाठन बन्द गरी सदरमुकाम आएका छन् ।
‘जाडो विदा सक्किएर स्कुल खुलेको दिन थियो हिजो (आइतबार), हामी स्कुल पुग्दा केहि मानिसहरु जम्मा भएर बसेका थिए ।’ सोही विद्यालयका शिक्षक रामेश्वर पोखरेलले भने ‘हामीले उनिहरुलाई खासै वास्ता नगरी पढाउन तिर लाग्यौ, ग्राउण्डमा मान्छेको भिडभाड बढ्दै गएको थियो, हाफ छुट्टी भयो, अनि त विद्यालयमा एक्कासी होहल्ला मच्चिन थाल्यो ।’ शिक्षकहरु सहित आफ्नो कार्यकक्षमा बसिरहेकी प्रअ देवकोटालाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर आलेले चेतावनीपूर्ण भाषा प्रयोग गर्दै पद छाड्न भनेको शिक्षक पोखरेलको भनाई छ । ‘हाफ छुट्टीमा हामी सबै अफिसमै थियौ, एक्कासी अध्यक्ष ज्यूले प्रअलाई अहिलेसम्म पद किन नछोडेको भन्दै आए’ उनले भने ‘अनि त बाहिर भएका सबै आएर हामीलाई एक्कासी घेराबन्दी गरियो, होहल्ला मच्चाइयो, मोबाइल चलाउन, फोटो खिच्न समेत दिइएन ।’
स्थिती तनाव बन्दै गएपछि दुई महिला पम्फा घर्ति र नम्रता आले कार्यालयभित्र छिरेर प्रअ तपाई होइन तेज बहादुर सर हो भन्दै आफुलाई कुर्चिबाट तानेर ढोका बाहिर पु¥याएको प्रअ देवकोटाको भनाई छ । ‘विद्यालयमा अभिभावक भन्दा गैरअभिभावकको जथ्था बढि थियो, सबै होहल्ला गर्दै अफिसभित्र पसे, अहिलेसम्म किन राजिनामा नदिएको, अब तपाई प्रअ होइन निस्कनुस भन्दै दुईजनाले जवरजस्ती तानेर मलाई ढोकाबाहिर पु¥याए’ प्रअ देवकोटाले भावुक हुदै भनिन् ‘अनि तेज बहादुर नेपाली सरलाई कुर्चिमा लगेर राखे ।’
कक्षा १० को टेष्ट परिक्षाको अन्तिम तयारीमा रहेका शिक्षक र विद्यार्थी घटनापछि अन्यौलमा परेका छन् । २०७१ भदौ १० देखि सो विद्यालयमा शिक्षिकाको पदबाट सेवा सुरु गरेकी प्रअ देवकोटाले २०७४ साउन ३ देखि प्रअको जिम्मेवारी पाएकी थिइन् । उनलाई विद्यालय ब्यवस्थापन समितिको निर्णयबााट नै प्रअ नियुक्त गरिएको थियो । हाल समितिले देवकोटालाई हटाएर सोही विद्यालयका शिक्षक तेजबहादुर नेपालीलाई प्रअ बनाउने तयारी गरेको छ । यस अघि पुस ९ गते प्रअ देवकोटालाई नै जानकारी नदिई बसेको समितिको बैठकले नयाँ प्रअमा नेपालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसयता पटक पटक समितिका अध्यक्षले देवकोटालाई अनावस्यक तनाव दिदै आएको उनको भनाई छ । यस अघि प्रअलाई नै जानकारी नदिई विद्यालय ब्यवस्थापन समिति गठन गरेकाले विधिसम्बत नभएको कतिपयको भनाई छ । उनले आफुलाई जबरजस्ती गर्दै गलत्याउने दुई महिलाबिरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगरशिक्षा समितिमा उजुरी दिएकी छिन् ।
देवकोटा र हाल समितिले राख्न खोजेको प्रअ नेपाली दुवै एउटै एकिकृत अखिल नेपाल शिक्षक संगठनका मानिन्छन् । तर उनले आफु आवद्ध रहेको संगठन नै आफु विरुद्धमा लागेको भन्दै साधारण सदस्य समेत नरहनेगरी राजिनामाको घोषणा गरेकी छिन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफुलाई संगठनका सचिवबाट अपरिचित ब्यक्ति प्रयोग गरेर हातपात गर्न लगाएको, पदबाट बर्खास्त गर्ने र स्वंम पद हत्याउनुले संगठनको मुल्य र मान्यताको खिल्ली उडाएको महसुस भएको भन्दै संगठनको सदस्यता त्यागेको बताएकी छिन् ।




















