नरेन्द्र ढकाल/गोरखा
माघ ७ गते । नेपालकै प्रसिद्ध उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या बढेको छ । विगत ६ महिना यता सो क्षेत्रमा ५ हजार १३८ पर्यटक पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । ‘अहिले पर्यटक संख्यामा उल्लेख्य वृद्धि भएको छ’ आयोजनाका प्रमुख नरेन्द्र लामाले भने ‘भूकम्पको प्रभाव कम गएसँगै गत वर्षबाट घुम्म आउनेहरु बढेका छन ।’
विगत ६ महिना अथार्त सन् २०१८ को जुलाई देखि डिसेम्बरसम्म मात्र ५ हजार भन्दा बढिले मनास्लु क्षेत्र अवलोकन गरेका छन् । ती मध्ये ५ हजार ८३ जना युरोपियन र अमेरिकन मुलकका पर्यटक छन् । ५५ जना सार्क क्षेत्रका पर्यटकले पनि मनास्लु क्षेत्रको पदयात्रा गरेको एमक्यापले जनाएको छ । सबै भन्दै धेरै अंग्रेजी महिनाको अक्टोबरमा २ हजार ८२९ जना मनास्लु क्षेत्रमा पुगेका छन् । ती मध्ये २८ जना सार्क क्षेत्रका र २ हजार ७९१ जना अयन्त्रका पर्यटक रहेका छन् ।
यसैगरी सबै भन्दा कम जुन महिनामा ३२ जना पर्यटक मनास्लु पदमार्ग हुँदै उत्तरी गोरखा पुगेका थिए । यसैगरी अगस्टमा ८६ र डिसेम्बर ९९ जनाले मनास्लु पदमार्गको अवलोकन गरेको एमक्यापले जनाएको छ । यी महिनामा अधिकाशं सार्क बाहिरका पर्यटक मनास्लु पदमार्गमा निस्केको देखिन्छ । अक्टोबर सिजन भनेर चिनिने उक्त समयमा अक्टोबरको अलवा सेप्टेम्बर र नोभेम्बरमा पनि उल्लेख पर्यटक पुगेका थिए ।
सेप्टेम्बरमा १८ जना सार्क क्षेत्र र ८१३ जना अयन्त्रका गरी ८३१ जना र नोभेम्बरमा ९ जना सार्क क्षेत्रका र अन्यत्रका १२ सय ६२ गरी १ हजार २७१ जनाले मनास्लु संरक्षण क्षेत्रको अवलोकन गरेको एमक्यापको तथ्याङ्कमा उल्लेख छ । ‘जव १५ अर्थात २०७२ सालमा भूकम्प गयो त्यसको इनप्याक्ट १७ सम्म परयो’ आयोजना प्रमुख लामाले भने ‘त्यसपछि जोखिमयुक्त बाटाहरु पनि मर्मत भयो, अबस्था सामान्य हुँदै गयो । पर्यटकको संख्या पनि बढ्यो ।’ सन् २०१८ अर्थात वर्ष भरी भने ८६ जना सार्क क्षेत्र र ७ हजार ५५४ अन्य मुलकका गरी कुल ७ हजार ६४० जनाले मनास्लु क्षेत्रमा पदयात्रा गरेको एमक्यापको तथ्याङ्क छ ।
गोरखाको आरुघाट बाट सुरु हुने मनास्लु पदमार्गमा जाने पर्यटकहरु अधिकाश लार्केपास गरी मनाङ हुँदै फकिर्ने गर्छन । केही पर्यटकहरु भने सोही क्षेत्रमा रहेका चुम भ्याली र नुब्री उपत्यकाको भम्रण गरी फर्कर्ने गरेको गरेका छन् । भौतिक पूर्वाधार र प्रचारप्रसारका कारणले पछिल्लो समय पर्यटकको संख्या बढेको एमक्यापको दाबी छ । ‘धमाधम सुबिधा सम्पन्न होटलहरु खुलेका छन्, बाटो पनि सहज भएको छ’ लामाले भने ‘हामीले प्रचारप्रसारलाई पनि उत्तिकै जोड दिएका छौं ।’
सडक सञ्जाल बिकाससँगै अन्नपूर्ण क्षेत्र लगायतका ठाउँमा पदमार्गहरु लोप भएकाले पनि मनास्लु क्षेत्र तर्फ पर्यटकको आकर्षण बढेको उनको तर्क छ । तर उत्तरी गोरखामा बिस्तार हुँदै गरेको सडकले केही वर्ष पछि यहाँ पनि पदयात्रीहरु भने घट्ने उनले बताए । ‘सडकको फाइदा बेफाइदा दुबै छन्’ उनले भने ‘अहिले सडक नहुँदा विदेशी पर्यटक बढि आउनु भएको छ । सडक पुगेपछि आन्तरिक पर्यटकको फ्लो बढि हुन्छ ।’ तर सडक पुगेपछि पदयात्रीलाई लक्षित गरि विभिन्न ठाउँमा खोलिएका होटल व्यवसाय भने धरापमा पर्न सक्ने उनको आशंका छ ।
संरक्षण क्षेत्र घुम्न आउने पर्यटक मध्ये बर्षेनी एक सय ५० जना भन्दा बढिले मनास्लु हिमाल आरोहण गर्ने गरेका छन् । हिमालपारीका सात गाविस सिर्दिवास, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सामागाँउ मनास्लु संरक्षण क्षेत्र भित्र पर्छन् ।




















