मोहसिन अलि मियाँ/गोरखा
माघ ७ गते । नगरक्षेत्रमा भइरहेको फोहोर मैला ब्यवस्थापनको अवस्थाबारे गोरखा नगरपालिकाले टोल विकास संस्थाहरुसंग छलफल गरेको छ । बिशेष गरेर बजार र आसपास क्षेत्रमा देखिएको फोहोर मैला ब्यवस्थापनको समस्याका बारे नगरपालिकाले टोल विकास संस्थाका प्रतिनिधीहरुसंग सामुहिक छलफल गरेको हो । वडा नम्बर ६, ७ र ८ का गरि ३९ वटा टोल विकास संस्थाहरुका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागितामा सदरमुकाममा भएको छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख राजनराज पन्तले फोहोरमैला ब्यवस्थापनमा सबैको धारणा परिवर्तन हुन जरुरी रहेको बताएका छन् । ‘पहिला त सफाइप्रति हाम्रो जुन धारणा छ त्यो चेन्ज हुनुप¥यो, सबैको साझा बुझाई बनाउनु प¥यो’ उनले भने ‘अरुलाई दोषी देख्नुअघि आफुले जिम्मेवारी वहन गर्नुप¥यो ।’ नगरवासीको तदारुकताविना नगरपालिकाको कुनैपनि प्रयास सफल नहुने भएकाले सबै एकतावद्ध भएर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
सरसफाई ब्यवस्थापनमा नगरपालिकाले हालसम्म गरेका कार्यका बारे जानकारी दिने र आगामी योजनाका बारे छलफल गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पन्तले आफ्नो घरको मैला आफैले ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए । घरबाट निस्कने फोहोरलाई कुहिने, नकुहिने छुट्याउन सके मात्रै धेरै समस्या हल हुने उनको तर्क छ । नगरपालिकाले स्थानीयसंग सफाई शुल्क लिएर आन्तरिक आम्दानी बढाउन नखोजेको प्रष्ट पार्दै उनले नगरवासीलाई जिम्मेवार र अपनत्व महशुस गराउन मात्रै न्यूनतम शुल्क लिएको बताए । अनुदानमा सबै टोलवासीलाई नगरपालिकाले कम्पोष्ट विन वितरण गरेको बताउदै नगरप्रमुख पन्तले त्यसको भरपुर सदुपयोग गरी फोहोरबाट मोहर निकाल्न सुझाव समेत दिए ।
फरक प्रशंगमा बोल्दै पन्तले टोल विकास संस्थामा आवद्ध नहुने घरधुरीलाई नगरको सेवा सुविधा रोक्ने चेतावनी दिएका छन् । ‘तपाईहरु अघि बढ्नुस, तपाईहरुले भनेका कुरा नमान्ने, टोल विकासमा नबस्ने को को हुन्, हामीलाई लिष्ट पठाउनुस् हामी कारबाही गर्छौ’ उनले भने ‘नराम्रा कुरा र गलत काम गर्नेलाई तपाईहरु पनि प्रशय नदिनुस् ।’ गोरखा नगरपालिका ८ मा रहेको कार्यालय नजिकै सल्लाघारी आसपास क्षेत्रमा सफाई केन्द्र निर्माणका लागि स्थानीयसंग छलफल गरी काम अघि बढेको कार्यालयले जनाएको छ ।
नगरपालिकाले बजार र बिभिन्न वडाहरुमा हाल एक ट्याक्टर र एक ट्रिपरबाट फोहोर मैला उठाउदै आएको छ । यसरी फोहोर संकलन गरेवापत कार्यालयले ठूला होटलहरु, मोटर ग्यारेजबाट मासिक १ हजार, साना लज सहितको होटल, निजि अस्पताल, मोटरसाइकल वर्कसपबाट ५ सय, साना होटल, हेयर कटिङ, साइकल मर्मत, मासु तथा फलफुल पसल बाट ३ सय, साना पसल, ब्यक्तिगत घरबाट १ सय, बित्तिय संस्थाबाट २ सय शुल्क लिने निर्णय गरेको वातावरण विज्ञ ध्रुवराज घिमिरेले जानकारी दिए ।




















