नरेन्द्र ढकाल/गोरखा
माघ ६ गते । स्थानीय तहका जनप्रतिनीधि हरुलाई औपचारीक कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ छ । जिल्लाका ११ वटा स्थानीयका प्रमुख उपप्रमुखहरुको अधिकाशं समय त्यस्ता कार्यक्रमहरुमा खर्च हुने गरेको छ । ‘कार्यालयमा आउँदा मेयर सापलाई देख्नै मुस्किल हुन्छ । म २÷३ पटक कामले नगरपालिका आइसके, अहिले सम्म उहाँलाई कार्यकक्षमा देखेको छैन’ गोरखा नगरपालिका परिसरमा भेटिएका पूर्ण बहादुर थापाले भने ‘कर्मचारीलाई सोध्दा कार्यक्रममा जानुभएको छ भन्ने सुनिन्छ ।’
गोरखा नगरपालिका मात्र होइन जिल्ला सबै स्थानीय तहका प्रमुख उपप्रमुखको धेरै समय भाषण गरेरै बित्ने गरेको छ । जसले गर्दा सेवाग्राहीले जनप्रतिनिधीलाई कार्यकक्षमा भेट्न पाएका छैनन् । ‘शिलन्यास, उदघाटन र समापनमा भाषण गर्दैमा उहाँहरुलाई फुर्सद छैन’ पालुंटारका विष्णु देवकोटाले भने ‘उहाँहरुको ध्यान जनताको काममा भन्दा अन्य कार्यक्रममा बढि छ ।’
अधिकाशं स्थानीय तहमा दैनिक आधा दर्जन भन्दा बढि औपचारीक÷अनौपचारिक कार्यक्रममा हुन्छन् । ती मध्ये अधिकाशंमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको उपस्थिती हुन्छ । कतिपय कार्यक्रममा त उनीहरु तिनै जना समेत सहभागी हुने गरेको पाइन्छ । जसले गर्दा कार्यालयका महत्वपूर्ण काम र निर्णयहरु प्रभावित हुने गरेका छन् । ‘धेरै कार्यक्रम एनजिओका हुन्छन, टोल सुधारका सामान्य सरसफाई कार्यक्रमको उद्घाटन गर्न पनि जनप्रतिनिधी नै पुग्ने गरेको देखिन्छ’ नागरिक समाजका अगुवा यदु अधिकारीले भने ‘कार्यालयको काम नै प्रभावित हुने गरी त्यस्ता कार्यक्रमलाई प्राथमिकता दिनु उचित होइन ।’ कार्यक्रमको प्रकृति र स्तर हेरेर समयको व्यवस्थापन गरी जनताको कामलाई बढि महत्व दिन उनको सुझाव छ । ‘एजजिओका कार्यक्रममा जाने अनि यहाँ जनतालाई दुखः दिन त भएन नी’ उनले भने ‘त्यस्ता कामको अनुगमनका लागि बरु आफ्नो प्रतिनीधि खटाइदिने, आफै जानु पर्ने भए टेन टु फाइभ भन्दा अरु बेला जानु पर्छ ।’
सिंहदरबारको अधिकार गाउँगाउँमा आएपछि बनेका सरकार प्रमुख उपप्रमुखहरुको समय त्यस्ता कार्यक्रममा खर्च हुँदा अन्य काम प्रभावित भएको छ । हरेक स्थानीय सरकारले वर्षा अगावै पूर्वाधार बिकासका काम सक्ने भने पनि अहिले सम्म अधिकाशंले काम सुरु गर्न सकेका छैनन् । कानून, कार्यविधि निर्माणमा तदारुकता दिएको देखिदैन । कार्यालयको कामलाई चुस्त दुरुस्त बनाउने कुरा पनि भाषणमा मात्र सिमित भएको छ ।
‘भोट दिएर जितायौं बोलाउँदा नि हाम्रो टोलमा आउनु भएन भन्ने हुन्छ, त्यसैले कार्यक्रमहरुमा नजाने भन्ने त भएन’ सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले भने ‘त्यहाँ झन जनतासँग प्रत्यक्ष भेटघाट हुन्छ, उहाँहरुका कुरा सुन्ने अबसर मिल्छ यसलाई पोजेटिप नै लिनु पर्छ । तर कार्यालयको काम नै बिग्रने गरी भने हिड्नु भएन ।’ आफूले कार्यालयको कामलाई नै प्राथमिकतामा राखी महिनामा ८÷१० वटा मात्र कार्यक्रममा सहभागी हुने गरेको उनले बताए ।
गोरखाका कुनै पनि स्थानीय तहले अहिलेसम्म आवश्यक सबै कानून निर्माण गरिसकेका छैनन् । हिउँदे अधिवेशनको समय सुरु भइसकेको छ । अहिलेसम्म पालुंटार नगरपालिका र धार्चे गाउँपलिका बाहेक अयन्त्र अधिवेशन भएको छैन् । कतिपय स्थानीय तहको केन्द्र र कार्यालय व्यवस्थापन समेत प्रभावकारी छैन । धार्चे र चुमनुब्री गाउँपालिका सदरमुकामबाटै चलेका देखिन्छ । ती गाउँपालिकाका प्रमुखहरु औपचारीक कार्यक्रममा मात्र गाउँ पुग्ने गरेको स्थानीयको गुनासो छ । यसैगरी जिल्ला कतिपय स्थानीय तहका प्रमुख, उपप्रमुखहरु पनि सदरमुकाम र राजधानीमा बढि समय बिताउने गरेको आरोप लागेको छ ।


