मोहसिन अलि मियाँ/गोरखा
माघ ३ गते । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको शहिद लखन गाउँपालिकाका किसान चिन्तित बनेका छन् । बर्षेनी सुन्तला उत्पादनमा ह्रास आएको भन्दै उनिहरु चिन्तित बनेका हुन् । ‘जिल्लामा मात्रै होइन देशमै यहाँको सुन्तला चर्चित छ, सुन्तलाको पकेट क्षेत्र भनेर घोषणा पनि भएको हो’ शहिद लखन गाउँपालिकाले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्दै स्थानीय रमेश कुमार श्रेष्ठले भने ‘तर यहाँ सुन्तला उत्पादन बर्षेनी घटेको घट्यै छ, हामी किसानको मर्का कसले सुनिदिने ?’
गाउँपालिकाले सुन्तलाको पकेट क्षेत्रमा लप्सी र केरालाई प्रर्वद्धन गरेको भन्दै उनले कार्यक्रममा गुनासो पोखे । ‘गाउँपालिकाले सुन्तला प्रवद्र्धनका लागि जे जति गर्नुप¥थो, त्यो कत्ति पनि भएको छैन, यहाँ त सुन्तलाको संरक्षण जरुरी छ, किसानको समस्या गर्न जरुरी छ’ श्रेष्ठले भने ‘तर गाउँपालिका लप्सी र केरा भनेर लागिपरेको छ ।’ शहिद लखनको मनकामना, बक्राङ, घैरुङ र ताक्लुङमा सुन्तला खेती हुने गरेपनि पहिलाको तुलनामा अनुमानित ६० प्रतिशतले उत्पादन घटेको किसानहरुको भनाई छ ।
आफुले संचालन गरेको सेवा प्रवाह, कार्यक्रम र योजना कार्यान्वयनका बारे जानकारी दिने र सेवाग्राहीका गुनासो सुन्ने उदेश्यले गाउँपालिकाले पहिलो पटक सार्वजानिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयले शिक्षा क्षेत्रको गुणस्तर दिनानुदिन खस्किदै गएको भन्दै चिन्ता ब्यक्त गरे । ‘बोर्डिङ स्कुलमा विद्यार्थी बढेको चिन्ता भन्दा सरकारी स्कुल सुधारको चिन्ता गरौ, खस्किएको गुणस्तर उकास्न तिर लागौ’ स्थानीय भुमिनन्द ढकालले भने ‘यसको अनुगनम गर्ने, मुल्यांकन गर्ने निकाय को हो ? मापन गर्ने सुचांक के हो ?’ उनले प्रतिप्रश्न गरे ।
गाउँपालिकाले समयमै बजेट र योजना ल्याएपनि कार्यान्वयनको पाटो भने फितलो भएको कतिपयको भनाई छ । त्यस्तै गोरखा मनकामना सडक खण्डमा मापदण्ड विपरित घर निर्माण भइरहदा समेत गाउँपालिका मुकदर्शक बनेको प्रति स्थानीयले आलोचना गरेका छन् । गाउँपालिकाले पूर्वाधार विकासको काम उपभोक्ता समिति भन्दा ठेकेदारलाई जिम्मा दिदा समयमा काम पूरा हुनेमा शंका उत्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । कार्यक्रममा उठेका जिज्ञासा र गुनासाहरुको गाउँपालिका अध्यक्ष थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिवन बहादुर आले मगर, गाउँपालिकाका बिभिन्न बिषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।
त्यस्तै कार्यक्रममा गाउँपालिकाले हालसम्मको प्रगती विवरण प्रस्तुत गरेको छ । प्रमुख प्रशासकिय अधिकृत आले मगरले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक बर्ष २०७४÷७५ मा पुजिगत बजेट तर्फ १४ करोड ६६ लाख बजेटमा ११ करोड ९४ लाख खर्च गरेको बताइएको छ । त्यस्तै चालुतर्फ २ करोड ९० मा २ करोड ५० लाख खर्च गरेको थियो । यसैगरी आ.व २०७५÷७६ मा पुजिगतमा १८ करोड ८० लाख बजेटमा १ करोड ९० लाख मात्रै बजेट खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गाउँपालिकाले शसर्त अनुदान तर्फ १६ करोड १२ लाखमा ७ करोड ५१ लाख रकम गर्च गरेको छ भने चालु बजेट ५ करोड १२ लाख मा १ करोड ३३ लाख रकम खर्च भइसकेको जनाएको छ । यसैगरी सामाजिक सुरक्षा खर्चतर्फ ५ करोड ९९ लाख मध्ये २ करोड ४५ लाख रकम खर्च गरेको गाउँपालिकाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै गाउँपालिकाभित्र भइरहेको पूर्ननिर्माणको प्रगतिका समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । शहिद लखन गाउँपालिकाको वडा नं. १ वक्राङमा ९३४ लाभग्राही संख्या रहेकोमा ७०५ ले घर निर्माण सम्पन्न गरिसकेका छन् भने वडा नं. २ र ३ साविकको मनकामनामा १ हजार ११९ लाभग्राहीमा ४५५ ले तेस्रो किस्ता बुझिसकेका छन् । यसैगरी ४ र ५ साविकको ताक्लुङ्गमा १ हजार ९२ लाभग्राही घरधुरी रहेकोमा ५६८ ले घर निर्माण सम्पन्न गरि तेस्रो किस्ता लिइसकेको छन् भने ६ को घैरुङ्गमा १ हजार २९ मध्ये ५१८ घर पुर्ननिर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै ७ र ८ को बुंकोटमा १ हजार ८९८ घरधुरी रहेकोेमा १ हजार ३१० ले तेस्रो किस्ता लिइसकेका छन् भने ९ को नामजुंगमा ९८७ लाभग्राहीमध्ये ६३० घर पुर्ननिर्माण भइसकेको गाउँपालिकाले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ ।
गाउँपालिकाले हालसम्म १८ वटा ऐन, कानुन, कार्यविधी र निर्देशिका निर्माण गरिसकेको जनाएको छ । त्यस्तै गाउँपालिकाले यसै बर्ष कार्यालय प्रयोजनका लागि साडे २३ रोपनी जग्गा खरिद गरि एक हल सहित ६ कोठाको भवन समेत निर्माण गरेको बताएको छ । गाउँपालिकाले जिल्लामै पहिलो पटक साप्ताहिक रुपमा हाट बजार समेत संचालन गर्दै आएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि लगायतमा गाउँपालिकाले सम्पन्न गरेको कार्यहरु समेत कार्यक्रममा सार्वजानिक गरिएको छ ।
सार्वजानिक सुनुवाई कार्यक्रममा नेकपाका प्रतिनिधी मनोज कुमार जोशी, नेपाली काँग्रेसका खुनप्रसाद रेग्मी, नयाँशक्तिका दिनेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले जनगुनासोलाई सम्बोधन गर्दै जनताका पक्षमा काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका वडाध्यक्ष तथा वडावासीको सहभागिता रहेको थियो ।




















