नरेन्द्र ढकाल/गोरखा
माघ २ गते । सिरानचोक गाउँपालिका वडा नम्बर ३ हर्मीका कृष्णप्रसाद ढकाल गोडा दुख्ने समस्याले थलिएका छन् । महेन्द्र लिला माविमा विद्यालय सहयोगीको रुपमा ४५ वर्ष देखि काम गर्दै आएका उनको दुबै गोडामा समस्या आएको छ । ‘दुई गोडा दुखेर हिड्नै सक्दिन’ उनले भने ‘उपचार गर्न पनि पैसा छैन ।’
२०३० साल पुस १९ गतेबाट विद्यालय सहयोगी पदमा जागिर खाएका ढकाल अहिले उपचारका लागि काठमाण्डौ पुगेका छन् । उनको दुईको वटै गोडाको गोलीगाँठा नेरको हड्डी खिइएको छ । ‘काठमाण्डौ आएर डाक्टरलाई देखाए केही समय औषधी खाएर हेर्नु पर्छ भन्नुभएको छ’ उनले भने ‘डाक्टरले के के जचाउँनु पर्छ भन्नु हुन्छ उचपार गर्न आफूसँग पैसा छैन ।’ एक हप्ता देखि पाटन अस्पतालमा उपचार गराइरहेका ढकाल विद्यालयमा बिदा मागेर काठमाण्डौ पुगेका हुन् ।
उमेरले ६४ वर्ष लागिसकेका उनको कपाल फुलेर सेतै भएको छ । १०१ रुपैयाँबाट जागिर सुरु गरेका उनको अहिले मासिक ९ हजार पारिश्रमिक छ । सरकारले उपलब्ध गराउने ७ हजार ५ सयमा विद्यालयले १ हजार ५०० थप गरी ९ हजार पु¥याइदिएको हो । ‘त्यत्ति तलब नुन तेल गर्दैमा सकिन्छ । अन्य आम्दानी छैन, केले उपचार गराउनु’ टेलिफोनमा सुस्केरा हाल्दै ढकालले भने ‘जिन्दगी भर सरकारी सेवा हाड घोटियो अहिले यस्तो अबस्था भयो न सरकाले हेर्छ न स्कूलले ?’ ५ दशक देखि निरन्तर विद्यालय सहयोगीको रुपमा काम गर्दै आएका उनले धेरै विद्यार्थीहरुलाई पानी बोकेर खुवाए, कति दिशा पिसाब समेत सोहोरे तर आज उनी घाटको माझी जस्तो भएका छन् । उनको बुढो शरिर अहिले बिरामी पर्न थालेको छ । ‘अहिले म घाटको बुढो माझी जस्तो अलपत्र भएको छु । न यता जान सक्छु न उता अरुलाई तार्दातार्दै जिन्दगी यसै गयो’ उनले भने ‘न सरकारले स्थायी गरिदियो, न शरिर रहयो अब के गरेर खाने ?’
आर्थिक रुपमा विपन्न ढकालको उपचारमा समस्या भएपछि अहिले पूर्व विद्यार्थी र शुभेक्षुकहरुले रकम संकलन सुरु गरेका छन् । पूर्व विद्यार्थी नबिन सापकोटाको नेतृत्वमा ढकालको जिवन रक्षाको निम्ति सामाजिक सञ्जालमा रकम संकलन अभियान सुरु गरिएको हो । ‘उहाँको अबस्था देखेर हामी चुप लागेर बस्न सकेनौं, साथीभाई सहयोगका लागी अनुरोध गरेयौं’ सापकोटाले भने ‘अहिले केही रकम जम्मा भएको छ, छिट्टै उहाँलाई हस्तान्तरण गर्छौं ।’ हालसम्म २५ हजार रकम जम्मा भएको उनले बताए । केही व्यक्तिले प्रतिवद्धता जनाएको रकम प्राप्त भएपछि केही दिन भित्र रकम हस्तान्तरण गर्ने उनको तयारी छ । उनको छात्तीमा समेत समस्या देखिएको छ । ढकालको जिवन उपचारका लागि सहयोग गरिन परिवारले आग्रह गरेको छ ।




















