गोरखा समाचारदाता
विन्द्रावती मावि मसेलका प्रधानाध्यपकलाई कुटपिट गरेको आरोपमा एक व्यक्ति प्रकाउ परेका छन् । जिल्लाको भिमसेन थापा गाउँपालिका १ को बिन्द्रावती माविका प्रअ उत्तरकुमार श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिका सदस्य शिवकुमार श्रेष्ठले हातपात गरेको आरोप लागेको छ । ‘कुटपिट भयो भनेर उहाँले प्रहरीमा उजुरी दिनुभएको छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला बहादुर रावलले भने ‘आरोपी व्यक्तिलाई समेत हामीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं ।’
आइतवार विद्यालय सञ्चालन भइरहेका बेला पूर्व सदस्य शिवकुमारले विद्यालय हाता भित्र प्रवेश गरी प्रअ माथि हातपात गरेका हुन् । दोश्रो घण्टी पढाएर निस्केका प्रअ उत्तरकुमारमाथी उनी एक्कासी जाइलागेको एक प्रत्यक्षदर्शीको दाबी छ । ‘म दश कक्षामा पढाएर बाहिर निस्कदै थिए । उहाँले बाहिर बसिरहुन भएको रहेछ’ प्रअ उत्तरकुमारले भने ‘एक्कासी मेरो जग्गा मिचेर बिल्डिङ बनाउने तँ होइनस् भनेर म माथि जाइलाग्नु भयो ।’ २०६७ सालमा भिमसेन थापा गाउँपालिका वडा नम्बर १ अध्यक्ष समेत रहेका स्थानीय शिक्षाप्रेमी बद्रिनारायण श्रेष्ठले विद्यालयलाई जग्गा दान गरेका थिए ।
बाबुले दान गरेको जग्गा भन्दा बढि च्यापेर विद्यालयले भौतिक संरचना बनाएको प्रति असहमती जनाउँदै शिवकुमारले बारम्बार विद्यालयलाई नाप जाँच गरेर मात्र भवन बनाउन आग्रह गर्दै आएका थिए । ‘मेरो जग्गामा बनाएको भवन किन हटाउनु भएन ? भनेर उहाँले भन्नुभयो’ प्रअ उत्तरकुमारले भने ‘हामीले तपाइँको जग्गा च्यापेका छैनौं । तपाइँलाई त्यस्तो लाग्छ भने नापी ल्याउनुहोस मात्र के भनेको थिए । मलाई सिकाउने तँ को ? भनेर सिधै हातपात गर्न थाल्नु भयो ।’ त्यसपछि विद्यार्थी र शिक्षक मिलेर उनीहरुलाई छुट्याएको एक शिक्षकले बताए ।
घटना भएपछि आइतबार दिनभर उक्त विद्यालयको पठनपठन ठप्प भएको थियो । कार्यक्षेत्र भित्र शिक्षक कुटिएको भन्दै विद्यालयमा कार्यरत अन्य शिक्षकहरु पठनपाठन बन्द गरी सदरमुकाम आएका छन् । ‘कार्यक्षेत्रमा रहेको शिक्षक माथि हातपात भएको छ’ नाम नबताउने शर्तमा एक शिक्षकले भने ‘हामी पढाएर बस्ने त कुरै भएन । दोषीलाई कानून अनुसार कारर्वाही नभएसम्म हामी पढाउन जाँदैनौं ।’
जग्गाको निउँमा उनीहरु विच यस अघि पनि बारम्बार विवाद हुँदै आएको केही स्थानीयले बताएका छन् । दान दिएको जग्गाभन्दा बढि मिचेर विद्यालय भवन बनाएको एका थरीको आरोप छ भने विद्यालय भवन बन्न नदिन बखेडा झिकेको अर्काथरीले बताएका छन् । उक्त जग्गामा जापानी सहयोग नियोग जाइकाले ६ कोठे भवन निर्माण सम्पन्न गरिसेको छ । केही दिन भित्र उक्त भवनको उद्घाटन गर्ने तयारी छ । दुबै पक्षसँग छलफल गरी घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्ने प्रहरीले बताएको छ ।


