गोरखा समाचारदाता
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोरर्खाली रनिङ कप फुटबल प्रतियोगिता फागुन ७ गते बाट सुरु हुने भएको छ । प्रतियोगिताको आयोजक हरमटारी क्लवले बिहीबार पत्रकार सम्मेलन गरी छैटौं संस्करणको समय तालिका सार्वजानिक गरेको हो । ‘गोरखाको फुटबल बिकासमा हरमटारी क्लवले बिगत देखि काम गर्दै आएको छ’ क्लवका अध्यक्ष विशाल गुरुङले भने ‘यस वर्ष पनि पनि गोरखामा फुटबलको उत्सव आयोजना गरेका छौं ।’
कुल १६ टिमको सहभागीता रहने प्रतियोगितामा राष्ट्रिय स्तर, बिदेशी र स्थानीय खेलाडीको संयोजन रहने आयोजकले दाबी गरेको छ । प्रत्येक स्थानीय टिमले कम्ती ३ जना स्थानीय नै खेलाडी समावेश गर्नुपर्ने छ भने हरेक टिमले ४ जना भन्दा बढि विदेशी खेलाडी राख्न नपाउने नियम बनाइएको छ । ‘हाम्रो उदेश्य उत्कृष्ट खेल प्रदर्शन होस भन्ने हो’ अध्यक्ष गुरुङले भने ‘स्थानीय स्तरका खेलाडी साथीहरुले पनि मौका पाउनु पर्छ त्यसको सुनिश्चित समेत गराएका छौं ।’
उक्त प्रतियोगिताको विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने छ । उपविजेताको लागि १ हजार र सेमिफाइनलमा पुग्ने दुई समूहलाई ५०÷५० हजार पुरस्कार स्वरुप उपलब्ध गराइने आयोजक हरमटारी क्लवका महासचिव अनिल श्रेष्ठले जानकारी दिए । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वोत्कृष्ट अग्रपक्ति, मध्येपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताले जनही ७ हजार ५०० पुरस्कार पाउने छन् ।
खेलकुद मैदान हरमटारीमा हुने प्रतियोगिताका लागि २५ लाख भन्दा बढि खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्, जिल्ला समन्वय समिति, जिल्ला खेलकुद बिकास समिति, जिल्ला फुटबल संघ, जिल्लाका ११ वटै स्थानीय तह लगायत विभिन्न व्यपारिक संघसस्थाहरुको सहयोगमा प्रतियोगिता सम्पन्न गर्न आवश्यक रकम संकलन गर्ने अध्यक्ष गुरुङले बताए । ‘जिल्लामा यति ठूलो प्रतियोगिता गर्नु आफैमा गा¥हो काम हो’ उनले भने ‘सबैसँग थोरै÷थोरै सहयोग मागेर भएपनि कार्यक्रम गर्ने हाम्रो लक्ष्य छ ।’ पाँच पटक प्रयोगिता सम्पन्न गरिसकेको क्लवलाई देश विदेशमा रहेका खेलप्रेमीहरुले समेत आर्थिक सहयोग गर्दै आएका छन् ।
खेलकुदमैदान हरमटारीमा यस वर्ष दुईवटा महोत्सव भएकाले मैदानको अबस्था नाजुक छ । जिल्ला खेलकुद बिकास समिति नाममा रहेको रङ्गशाला मेला महोत्सव आयोजना देखि राजनितिक सभा समारोहमा समेत प्रयोग हुने गरेको छ । जसले गर्दा खेलमैदान सुरक्षित राख्न नसकिएको हरमटारी क्लवको गुनासो छ । ‘वर्षेनी प्रतियोगिता गर्नु अघि ५÷६ लाख खर्च गरेर हामी मैदान बनाउँछौ । कहिले चेम्बरले मेला गर्छ, कहिले उद्योग वाणिज्य सघंले महोत्सव गर्छ’ अध्यक्ष गुरुङले भने ‘जिल्लामा अर्को बिकल्प नहुँदा हाम्रो लगानी यसै खेर गइरहेको छ ।’ मेला महोत्सवको आयोजना गरेर ठुलो रकम नाफा गर्दा समेत मैदान मर्मतमा चासो नदेखाउने गरेको खेलाडी एवं खेलप्रेमीको गुनासो छ ।




















