गोरखा समाचारदाता
बुढीगण्डकी आयोजनाको मुआब्जा निर्धारण प्रति असन्तुष्टि व्यक्त गरेका स्थानीयहरुको गुनासो सुनुवाई सुरु भएको छ । आयोजनाको कार्यालय सिउरेनीटार र जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका ५ सय भन्दा बढि गुनासो तथा उजुरीको स्थलगत रुपमै छानबिन सुरु गरिएको हो । ‘हामीलाई ५÷६ सय मौखिक÷लिखित उजुरी आएका थिए’ छानबिन टोलीका संयोजक जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गौतम भण्डारीले भने ‘उक्त गुनासो उपर फिल्ड गएर छानबिन सुरु गरेका छौ ।’
प्राप्त भएका गुनासोलाई २ भागमा वर्गिकरण गरी अध्ययन गरिएको छ । केही गुनासोलाई सम्बन्धित स्थानीय तह विशेष र केहीलाई किसिम विशेषका रुपमा वर्गिकरण गरिएको हो । ‘कतिपय गुनासाहरु जग्गाको किसिम फरक प¥यो भन्ने छन’ उनले भने ‘सडकसँग जोडिएको कित्ताका विषयमा पनि उजुरीहरु परेका थिए । हामीले नाप नक्सा नै गराएर अध्ययन गरेका छौं ।’ भण्डारीको संयोजकत्वमा मालपोत, नापी, बुढीगण्डकी आयोजनाका इन्जिनियर, लेखा अधिकृत, सम्बन्धित वडा कार्यालयको प्रतिनिधि र वुढीगण्डकी आयोजनाका सामाजिक विकास अधिकृत, स्थानीय जनप्रतिनिधि लगायतको टोलीले गण्डकी गाउँपालिका वडा नम्बर ५ का प्रभावितहरुसगँ छलफल गर्नुका साथै स्थलगत रुपमा जग्गा अवलोकन गरेका छ ।
मुआब्जा निर्धारणका क्रममा वर्गिकरण गरिएका जग्गाको किसिम नमिलेको, एकाघरका व्यक्तिले किनबेच वा नामसारी गर्दा पनि बाहिरका मानिस सरह कर कट्टा गरिएकोे, सडक जोडिएका कित्ताको उचित मुआब्जा प्राप्त नभएको लगायतका गुनासो स्थानीयले गरेका छन् । उक्त अध्ययन टोलीले दर्बुङ्गको प्रभावितसँग छलफल गरेको र केही दिनमा फुजेल, बुंकोट र बोलाङ्र्गमा प्राप्त गुनासो र उजुरी उपर स्थलगत अध्ययन गर्ने तयारी गरेको छ । प्रभावितसँग छलफल र स्थलगत अध्ययन पछि पुनरावलोकनका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला मुआब्जा निर्धारण समितिमा प्रतिवेदन पेश गर्ने भण्डारीले जानकारी दिएका छन् ।




















