नरेन्द्र ढकाल/गोरखा
पौष ३० गते । गोरखाका कैदी बन्दीले व्यवसायिक सिपको माग गरेका छन् । कारागारको अबस्था बुझ्न पुगेका जिल्ला न्यायाधिस, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालाहरुसँग उनीहरुले कारागारमा बसेर समय खेर फाल्नु परेको भन्दै व्यवसाय गर्ने इच्छा व्यक्त गरेका हुन् । ‘काम गरौं हातमा सिप छैन, समय कटाउन पनि गारहो भएको छ’ एक महिला कैदी बन्दीले भन्नुभयो ‘सिप सिक्न पाए काम गरेर पाइन्थ्यो । दुई चार पैसा पनि आम्दानी हुन्थ्यो ।’
यसअघि सिलाइकटाई, ढाकाको कपडा बुन्ने लगाएका काम हुने गरेको भएपनि सिप सिकेका महिलाहरु कारागार मुक्त भएकाले अहिले नयाँ थपिएकाहरुलाई तालिम आवश्यकता परेको हो । यसैगरी पुरुष कैदीबन्दीले पनि तालिमको माग गरेका छन् । अहिले मुडा बुन्ने काम गरेपनि त्यो प्रयाप्त नभएको उनीहरुले बताएका छन् । ‘मुडा बुन्ने काम गा¥हो छ सबैले गर्न सक्दैनन’ गोरखा कारागारका पुरुष नाइके रिङजीङ वाङडा लामाले भन्नुभयो ‘अरु सजिला सिपहरु सिकाउन पाए सबैले काम गर्न सक्थे ।’

गोरखा कारगारको मुडा निकै चर्चित छ । कैदीबन्दीले मेहनत गरेर बुनेको उक्त मुडाको बजारमा माग पनि बढी छ । जसले गर्दा कतिपय करागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरुले राम्रो आम्दानी समेत गरिरहेका छन् । ‘के गर्नु यही बासको सिन्का खुर्केर दिन कटाउँछु’ कैदी बन्दी जितबहादुर भण्डारीले भने ‘चिया खाजा टरेको छ ।’ मुडा बुन्ने कतिले भने महिनामा १५/२० हजार समेत आम्दानी गर्ने गरेको बताएका छन् ।
बन्दीहरुले खानेपानी सुबिधा राम्रो नभएको, खेलकुद सामाग्रीहरु प्रयाप्त नभएको, क्षमता भन्दा बढि मानिस बस्नु पर्दा अफ्ठेरो भएको लगायतका गुनासो पनि गरेका छन् । जिल्ला कारागार गोरखामा अहिले ८ जना महिना र ७९ पुरुष गरी ८७ जना कैदी बन्दी छन् । ५० जना क्षमताको उक्त कारगारमा धेरै बन्दी राख्नु पर्दा व्यवस्थापनमा समस्या हुने गरेको कारागार गोरखाका प्रमुखा शशिधर सुवेदीले जानकारी दिनुभयो । ‘मुख्य हामीलाई पानीको समस्या छ, ५० जनाको क्षमता भएको कारागार हो यो झण्डै सय जना राख्नु परेको छ’ उहाँले भन्नुभयो ‘मान्छे धेरै भएपछि व्यवस्थापन गर्न समस्या त हुने नै भयो ।’
उक्त अबसरमा गोरखाका न्यायधिस बसन्तराज पौडेलले कैदीबन्दीको कानूनी अबस्था, मुद्दाको प्रकृति र अदालतले गर्नुपर्ने सहजीकरणका बारेमा जिज्ञासा राख्नुभएको थियो । ‘कसैलाई मुद्दा सम्बन्धी समस्या छ भने हाम्री सहजीकरण गर्ने प्रयास गर्छौं’ उहाँले भन्नुभयो ‘त्यसको लागि कारगार प्रशासन र निजको वकिलले पहल गर्नुपर्छ ।’कैदीबन्दीको मानब अधिकारको सम्मान गर्नका लागि आफू प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
सोही अबसरमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बन्दीका माग र चाहना अनुसारको तालिम प्रदान गर्नका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । कारागरको सेवा सुबिधाका बारेमा समेत जानकारी लिदै खानपान र सुरक्षामा विशेष ध्यान दिन कारागार प्रशासनलाई उहाँले निर्देशन समेत दिनुभएको छ । ‘तपाइहरुको इच्छा अनुसार तालिमहरु सञ्चालन गर्न म सक्दो पहल गर्छु’ उहाँले भन्नुभयो ‘के काम गर्ने भन्नेबारेमा सल्लाह गरेर नाइके मार्फत कारागर प्रशासनलाई खबर गर्नुहोस । त्यस पछि के गर्नुपर्छ हामी गछौं ।’भूकम्पको जिर्ण बनाएको जिल्ला कारागार निर्माणको लागि शहरी आवास तथा भवन डिभिजनले प्रक्रिया अगाडी बढाए पनि अहिले सम्म काम भने सुरु हुन सकेको छैन ।


