नरेन्द्र ढकाल/गोरखा
पौष २४ गते । शिक्षकहरुले जागिरे मानसिकता मात्र त्याग्नु पर्ने नेपाल सरकारका शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले बताएका छन् । जिल्लाको भिमसेन थापा गाउँपालिका–९ स्थित जनशक्ति मावि नाम्जुङ्गको विद्यालय भवन उद्घाटन गर्दै उनले शिक्षकहरुलाई जिम्मेवार हुन आग्रह गरेका हुन् । ‘स्कूल जागिर खाने ठाउँ होइन । स्कूल ज्ञान हस्तान्तरण गर्ने र ज्ञान निर्माण गर्ने ठाउँ हो’ उनले भने ‘अहिले पनि हकारेर, दण्ड दिएर तपाईले शिक्षा दिइरहनुभएको छ भने ठीक काम गरिरहनुभएको छैन । त्यसलाई बन्द गर्नुहोस् ।’ नेपालमा शिक्षाको आमुल परिर्वतन गर्ने मुख्य भूमिका शिक्षकहरुमा रहेको भन्दै उनले राजनैतिक दलको झण्डा बोकेर नहिड्न समेत आग्रह गरेका छन् ।
विकास अवधारणाहरुसँग शिक्षालाई जोड्नु पर्नै उनले अहिले देशमा सिपयुक्त शिक्षाको खाँचो औल्याएका छन । ‘नेपालमा हामीले पढाउने त काम गरेयौं तर शिक्षालाई उत्पादनसँग जोडेनौं, बिकाससँग जोडेनौ’ उनले भने ‘अब शिक्षाले श्रमलाई सिपसँग, सिपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धीसँग जोड्नु पर्छ ।’
कम्तिमा माध्यामिक तहको पढाई सकिदा एउटा विद्यार्थीसँग एउटा सिप हुनुपर्ने उनको भनाई छ । सोही अनुरुप प्राविधिक शिक्षाको अध्यापन गराउन सामुदायिक विद्यालयहरु तयार हुनुपर्ने अवस्था आएको मन्त्री पोखरेलले बताए । ‘अब विद्यालयका हेडसरहरु, अभिभावकहरु र स्थानीय सरोकारवालाहरुले निर्णय गर्नुहोस् । तपाइँको ठाउँमा कस्तो शिक्षाको खाँचो छ’ उनले भने ‘प्रस्ताव लिएर आउनुहोस हामी सम्बन्धन दिन तयार छौं ।’
मुलुक विकास र समृद्धीको चरणमा प्रवेश गरिसकेकाले अबको शिक्षा पनि सोही अभियानमा केन्द्रित हुनुपर्ने भन्दै उनले शिक्षा क्षेत्रको बिकासले मात्र समृद्धीको सपना पुरा हुने बताए । ‘सबै पालिका लेभलमा एउटा÷एउटा प्राविधिक शिक्षालय खोल्ने भन्ने अन्र्तगत हामी तिब्र रुपले लागिरहेका छौ’ मन्त्री पोखरेलले भने ‘अबको दुईवर्ष भित्र हरेक पालिकामा त्यस्ता विद्यालय सञ्चालन गर्ने हाम्रो योजना छ ।’
विगतमा शिक्षाको स्वामित्व शिक्षक, अभिभावक र सरोकारवालाहरुले लिन नसक्दा सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर खस्केको भन्दै उनले अब त्यस्तो हुन नदिने दाबी गरेका छन । अब पुरानो शैलीबाट सामुदायिक विद्यालय सञ्चालन हुन नसक्ने भन्दै मन्त्री पोखरेलले सबै सरोकारवालाहरु गम्भिर हुनुपर्नेमा जोड दिए । ‘अब पहिलेको जस्तो ढङ्गले विद्यालय चलाउन सकिदैन । नयाँ ढङ्गले चलाउनु पर्छ’ उनले भने ‘विद्यालय ज्ञान दिने केन्द्र हो । यसलाई विद्यार्थीको उमेर, चाहाना र आवश्यकता अनुसार चलाउनु पर्छ ।’ अब पहिले जस्तो शिक्षकलाई मात्र जिम्मा दिएर विद्यालय चल्न नसक्ने भन्दै उनले अभिभावक र अन्य सरोकारवालाहरु पनि उत्तिकै चनाखो हुनुपर्ने बताए ।
सरकारले संघिय शिक्षा नीति निर्माण गरिरहेको भन्दै उनले अहिलेको दिगो बिकासको लक्ष्य र अबको २५ वर्ष पछिको नेपाललाई कस्तो जनशक्ति चाहिन्छ भन्ने कुरा उक्त नीति मार्फत सार्वजानिक हुने बताएका छन् । सामुदायिक विद्यालयमा देखिएका समस्या समाधान गर्न सरकार प्रयत्नशिल रहको भन्दै मन्त्री पोखरेलले विद्यालयहरुलाई साधन स्रोत सम्पन्न बनाउने, अभिभावकको अपनत्व सिर्जना गराउने, आवश्यकता अनुसारको दरबन्दी कायम गरी शिक्षक नियुक्त गर्ने लगायतका कुरामा जोड दिइएको उनले बताए । स्थानीय तहको माग र आवश्यकता अनुसारको प्राविधिक शिक्षाको क्षेत्रलाई थप ब्यापक बनाउने तयारी समेत गरिएको उनको भनाई छ ।
पाँच करोड ४८ लाख लागतमा २ वर्ष लगाएर सो विद्यालय भवन डाँफे कन्ट्रक्सनले निर्माण गरेको हो । वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद लामिछानेको अध्यक्षतामा तथा मन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक चिरञ्जिवी काप्रीले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था बारे जानकारी गराएका थिए ।




















