गोरखा समाचारदाता
जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले पुर्ननिर्माणको समिक्षा गरेको छ । भूकम्पको केन्द्रबिन्दु समेत रहेको उक्त गाउँपालिकामा ८४ प्रतिशत घर निर्माण सम्पन्न भएका छन् । ७ हजार ४ जना लाभग्राही रहेको त्यहाँ हालसम्म ९७.१ प्रतिशतले पहिलो किस्ता बुझेका छन् । यसैगरी ९०.२ प्रतिशतले दोश्रो र ८०.१ प्रतिशत लाभग्राहीले तेश्रो किस्ता बुझेको जाइका अन्र्तगतको आपत्तकालिन आवासिय परियोजनाका जिल्ला कार्यक्रम व्यवस्थापन बाबुराम केसीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतमा भएको कार्यक्रममा पुर्ननिर्माणको बाँकी काम सम्पन्न नहुनका कारणहरुका बारेमा पनि छलफल भएको थियो । त्यहाँका २८३ जना भूकम्प पिडितको घर निर्माणमा प्रगती हुन सकेको छैन । ति मध्ये अधिकाशंले पहिलो किस्ता बापतको ५० हजार बुझिसेका छन् । ‘पुर्ननिर्माणको विषयमा केही नीतिगत समिक्षा गर्नुपर्ने देखियो’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने ‘हामीले सरोकारवालाहरु बसेर गम्भिर समिक्षा गरेका छौ, अब छिटै गाउँकार्यपालिकाको बैठक बसेर निर्णय गछौैं ।’ कार्यपालिकाको बैठक यही पुस २५ गते बस्ने तयारी छ ।
केहीको अनुदान सम्झौता नभएको, कतिपय लाभग्राही दोहोरिएको, पहिचान नभएका, बसाइसराई गरेका, घर बनाउन इच्छुक नदेखिएका, मृत्यु भएका, जनता आवास कार्यक्रम मार्फत सुविधा लिएका, भूमीहिन लगायतले विभिन्न समस्याका कारण अनुदान सम्झौता हुन नसकेको गाउँपाकिलाको ठहर छ । यस्ता लाभग्राही मध्ये २६ जनाले घर नबनाउने जानकारी समेत गराइसेका छन । ‘२६ जनाले घर नबनाउने बताउनुभएको छ’ उक्त क्षेत्रमा प्राविधिक सहयोग गरिएको जाइका परियोजनका कार्यक्रम व्यवस्थापक केसीले भने ‘उहाँहरुले मध्ये अधिकाशंको रकम फिर्ता गर्ने इच्छा देखिन्छ ।’
निजी आवास अनुदानको पहिलो किस्ता बुझेर पनि घर नबनाएका पिडितहरुको पहिचान गर्ने बैठकले निर्णय गरेको छ । उनीहरुको अबस्था र वास्तविकता यकिन गरी आवश्यक निर्णय लिइने गाउँपालिका अध्यक्ष भट्टले बताए । ‘के कसरी जाने भन्ने निर्णय भइसकेको छ’ उनले भने ‘कार्यपालिकाको बैठकले यसलाई औपचारिक रुपमा अनुमोदन गरेपछि हामीले तत्काल काम गछौं ।’
रकम बुझेर पनि घर नबनाएकाहरुलाई सूचना प्रकाशित गरेर सम्र्पकको लागि आग्रह गर्ने, लाभग्राहीको सुचीमा दोहोरो नाम भएकालाई नाम कट्टा गर्ने, रकम फिर्ता गर्न चाहनेलाई सहजिकरण गर्नेे, भूमीहिन लाभग्राहीलाई जग्गा उपलब्ध गराउन पहल गर्ने, नाम छुटेका तथा गुनासो फारम भरेकाहरुलाई समस्या समाधान पहल गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिका भित्रका २३५ जना लाभग्राहीले घर निर्माण गरी सम्पन्नताको प्रमाणपत्र समेत लिइसकेका छन् । निर्माण सम्पन्न भएका अन्य घरलाई समेत सम्पनताको प्रमाणपत्र वितरण गर्नका लागि इन्जिनियर/प्राविधिकलाई निर्देशन दिइसकेको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । प्राधिकरणले उपलब्ध गराउने प्रमाणपत्र स्तरिय नभएको भन्दै गाउँपालिकाले आफ्नै खर्चमा प्रमाणपत्र समेत बनाएको छ ।
बैठकमा प्रमुख प्रशासयिक अधिकृत शिव गुरुङ, वडा अध्यक्षहरु, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण मातहतका इन्जिनियर÷प्राविधिक, जाइका अन्र्तगतको आपत्तकालिन आवासिय परियोजनाका प्राविधिक व्यवस्थापन विज्ञ भुपेन्द्र बस्नेत लगायत सरोकारवालाहरुको सहभागिता रहेको जाइका परियोजनका जिल्ला कार्यक्रम व्यवस्थाक केसीले जानकारी दिए ।


