गोरखा समाचारदाता
मालपोतले नयाँ अनुसुची फारम सञ्चालनमा ल्याएको बिरोधमा लेखापढी व्यवसायी उत्रिए पनि मालपोतमा धमाधम काम भएको छ । लेखापढी कानूनी व्यवसायीले पेन डाउन गरेर धर्ना बसेपनि अधिकाशं सर्वसाधरणले आफै फारम भरेर काम गरेका हुन् । ‘कागजपत्र खोजेर, आफैले काम गरें, केही गाहो रहेनछ’ गोरखा नगरपालिका ८ का रामहरी खत्रीले भने ‘लेखनदासलाई पैसा दिनुपनि परेन, काम पनि सजिलै भयो ।’
उनी जस्तै १६ जना सेवाग्राहीले सहयोगी बिना नै जग्गाको नामसारी गर्ने र धितोबन्दकी गराएका छन् । ‘गाउँबाट आफन्तहरु आउनु भएको रहेछ’ मालपोत परिसरमा भेटिएका ओम गुरुङले भने ‘आफैले निवेदन लेखेँ फारम सबै भरिदिएँ उहाँहरुको काम सजिलै भयो ।’ बाहिर लेखापढी कानून व्यवसायी एसोसिएसन आवद्ध व्यवसायीहरुले धर्ना दिइरहँदा ११ जनाले राजिनामा र ५ जनाले धितोबन्दकी गराएका हुन् ।
लेखापढी व्यवसायीकै सहयोगमा दैनिक करिब ४० वटा काम हुने गरकोेपनि उनीहरु बिनै बुधबार १६ वटा काम भएको मालपोत कार्यालयको प्रशासन श्रोतले बताएको छ । सरकारले मालपोतमा लागु गरेको नयाँ अनुसूची फारममा लेखक र साक्षीहरु नराखिकन सर्वसाधरणले काम गर्न सक्ने उल्लेख गरेपछि नेपाल लेखापढी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन । ‘हाम्रो आन्दोलन सरकारले भर्खर ल्याएको अनुसुचि फारमसँग लक्षित हो’ लेखापढी कानून व्यवसायी एसोसिएसनका गण्डकी प्रदेश सचिव सरोज देबकोटाले भने ‘यो निर्णय हाम्रो खिलापमा छ त्यसलेै हामी आरोपमा उत्रिएका हौं ।’ मुलकी देवानी सहिंता ऐन २०७४ र संर्वोच्च अदालतको फैसलाले समेत अदालतबाट इजाजत पाएका लेखापढी व्यवसायीले लिखतको मस्यौदा तयार पार्न पाउने उल्लेख गरेको छ । सबै सर्बसाधरण आफैले मालपोतको काम गर्ने सक्ने अवस्था नरहेको भन्दै उनले यस अघि सक्ने व्यक्तिलाई कसैले नछेकेको दाबी गरेका छन् ।
यता मालपोत प्रमुख देबेन्द्रबहादुर थापाले आफूले व्यवसायी अधिकार हनन हुने कुनै पनि काम नगरेको दाबी गरेका छन । सरकारले नयाँ अनुसुची ल्याइसेको अबस्थामा त्यसलाई कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको भन्दै उनले त्यसबाट पछि नहट्ने प्रतिवद्धता व्यक्त गरे । ‘नयाँ अनुसुची फारम मंगलबारबाटै लागु भइसकेको छ, लेखापढी व्यवसायी साथीहरुको केही असन्तुष्टि देखिएको छ’ उनले भने ‘सक्ने मानिसले काम गर्ने भन्ने विषयमा त्यो सेवाग्राहीको राइट हो हामी रोक्न सक्दैनौं ।’
मंगलबारबाट लेखापढी व्यवसायीले आन्दोलन गरेपछि जिल्ला मालपोत कार्यालयको काम प्रभावित भएको छ । बुधबार व्यवसायीहरुले मालपोत, नापी र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउनका साथै कार्यलय परिसरमा धर्ना समेत दिएका थिए । त्यसपछि जिल्ला मालपोत अधिकृत र लेखापढी व्यवसायी विच छलफल समेत भएको थियो । आवश्यक परेको ठाउँमा लेखापढी व्यवसायीले सहयोग गर्ने र कार्यालयले पनि सहजकरण गरिदिने सहमती भएपछि आन्दोलन स्थगित भएको छ । ९ बुँदे ज्ञापत्रसहित छलफलमा सहभागी व्यवसायीहरुले नयाँ फारम अनुसार काम गर्नका लागि केही दिनको समय मागेका छन् । ‘हामीले आउँदो बुधबार सम्मको समय मागेका छौ’ लेखापढी कानून व्यवसायी एसोसियसनका गण्डकी प्रदेश सचिव देवकोटाले भने ‘राजिनामाका हकमा यो अनसुची अहिल्यै लागु भइहाल्छ, अंशबण्डा र अन्यको हकमा अध्ययन गर्न केही समय आवश्यक परेको समय मागेका हौं ।’ यता व्यवसायी र मालपोत प्रशासनको कारण मर्कामा परेको सेवाग्राहीको गुनासो छ ।


