गोरखा समाचारदाता
मालपोत कार्यालयको ढिला सुस्तीले अनावश्यक दुखः पाएको सेवाग्राहीले गुनासो गरेका छन् । मंगलबार बिहान १२ तिर कार्यालयमा पुग्दा मालपोत अधिकृत देवेन्द्र थापाको कार्यकक्ष खचाखच थियो । कतिपय सेवाग्राही कार्यकक्षको सोफामा सुतिरहेका थिए । ‘पाँच दिन भयो लगातार धाएको काम बन्दैन’ सेवाग्राही अञ्जन कुँवरले भने ‘कहिले कर्मचारी हुँदैन कहिले के हुँदैन ।’ ८४ वर्षकी आमा बेलीमायाँ कुँवरको नाममा रहेको जग्गा नामसारी गर्नका लागि अञ्जन सहित उनका दाजु समेत लगातार मालपोत धाइरहेका छन् । ‘बसमा आउन सक्दिन ट्याक्सीमा आउँदा जादा १ हजार लाग्छ’ बेलीमायाँ कुँवरले भनिन ‘४÷५ हजार त ट्याक्सी भाडा मै गइसक्योे ।
पालुंटारकी खड्कदेवी बस्नेत मालपोत अधिकृतको कार्यकक्षमा सोफामा सुतरेकी थिइन । जग्गा नामसारी गर्न आएकी उनको पनि काम बनेको थिएन । ‘काम हुँदैन, बिरामी छु यसै बस्न पनि सक्दिन’ उनले भनिन ‘हाम्रो त बिचल्ली नै भयो । ’
मंगलबार करिब १२ बजे तिर मालपोत अधिकृतको कार्यकक्षमा झण्डै ५० जना बढि सेवाग्राही थुप्रिएका थिए । मालपोत अधिकृत देबेन्द्र थापा भने कम्प्युटर कक्षमा थिए । ‘आजबाट नयाँ अनुसुचीमा काम गर्नु पर्ने थियो’ उनले भने ‘त्यसको व्यवस्थापन गर्दा काम केही ढिलो हुन गएको हो ।’
सर्वोच्चमा परेको मुद्दाको अन्तरिम आदेश मालपोतका नाममा भएपछि नयाँ अनुसुचि अनुसार काम गर्नुपरेकाले ढिलाई हुन गएको मालपोत कार्यालयको दाबी छ । केही समय यता मालपोतको सेवाप्रवाहलाई लिएर सर्वसाधरणले गुनासो गरिरहेका छन् ।




















