गोरखा समाचारदाता
सरकारी बिदा कटौती भएको विरोध गर्दै तमु समुदायले यस वर्षको ल्होसार मनाएका छन् । गुरुङ बाहुल्यता रहेको जिल्लाका विभिन्न ठाउँमा औपचारिक अनौपचारिक कार्यक्रम गरी महान पर्व ल्होसार मनाईको हो । ‘प्रदेशले विदा दिए पनि धोका भयो । अन्य प्रदेशमा रहेका भाइबन्धुले बिदा पाउनु भएन’ जिल्ला सदरमुकाममा भएको कार्यक्रममा बोल्दै सिरानचोक गाउँपालिकाका अध्यक्ष समेत रहेका तमुअगुवा राजु गुरुङले भने ‘राष्ट्रिय बिदा चाहिन्छ भन्ने हाम्रो जोडदार माग हो ।’ कार्यक्रम सुरु हुनपुर्व जिल्ला सदरमुकाममा भेला भएका तमुहरुले कालोब्यानर सहितको ¥याली निकालेर बजार परिक्रममा गरेका थिए । तमु हल हरमटारीबाट सुरु भएको रयाली, कालिमाटी, बिसौनीमोड, शक्तिचोक हुँदै बसपार्क पुगको थियो । पुनः हरमटारी आएर खेलकुदमैदानमा कार्यक्रम भएको हो ।
कुकुर वर्ग खी ल्होको बिदाई तथा मृग वर्ष फो ल्होको स्वागतका अबसरमा तमु ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषद्को नगर समितिको मुल आयोजनामा भएको कार्यक्रम बोल्दै अधिकाशं अगुवाहरुले सरकारले तमु समुदायको उपेक्षा भएको गुनासो गरेका थिए । नगर कार्यसमितिका अध्यक्ष दिलमान गुरुङ अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, नेपाल कम्युष्टि पार्टीका कृष्ण राना, नेपाली काँग्रेसका चन्दनबाबु खत्री, नयाँशक्ति पार्टीका नारायण खत्री, केन्द्रिय सदस्य जगनसिं गुरुङ, पूर्व केन्द्रिय सदस्य टेकबहादुर गुरुङ, जिल्ला अध्यक्ष रामबहादुर गुरुङ, जिल्ला सचिव तथा विद्यार्थी अध्यक्ष रुपबहादुर गुरुङ, प्रचार सचिव दुर्गा गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
सदरमुकामका अलवा जिल्लाका तमु बाहुल्यता भएका बारपाक, लाप्राक, सौरपानी, स्वाँरा, भच्चेक, उत्तरी गोरखाका विभिन्न ठाउँका साथै आरुघाट, पालुंटार र आँबुखैरनीमा पनि ल्होसारका अबसरमा विभिन्न कार्यक्रम भएका थिए ।
बौद्य हिमाल तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद बारपाकको आयोजनमा भएको कार्यक्रमका वक्ताहरुले सम्पुर्ण तमु समुदाय एक हुनुपर्ने बताएका छन् । गुरुङ र खले बिचको विवादका कारण स्थानीय जनता विभाजित रहेको भन्दै उनीहरुले फुटेर होइन जुटेर अगाडी बढ्नु पर्ने बताएको बारपाकबाट स्थानीय मानसिं गुरुङले जानकारी दिए । पुर्ण बहादुर गुरुङको अध्यक्षता तथा केन्द्रिय कार्यसमितिका सचिव मेनबहादुर घलेको प्रमुखको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमु विद्यार्थी सघं लम्जुङका अध्यक्ष कृष्ण गुरुङ, नेपाल काँग्रेस बारपाक सुलिकोटका संयोजक जितबहादुर घले, बारपाक सुलिकोट वडा नम्बर १ रोशनकुमार बिक, २ का लालबहादुर गुरुङ, उत्तरी गोरखा तमु समाजका महासचिव तेजबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी सुलिकोटका नबिन घले लगायत मन्तव्य राखेका थिए ।
ल्होसारको अबसरमा गण्डकी प्रदेशले सार्वजानिक विदा दिए पनि आइतबार केन्द्र सरकार अन्र्तगतका सबै कार्यालय सञ्चालन भएका छन् । केन्द्र सरकारले ल्होसारको विदा कटौती गरेपनि गण्डकी प्रदेशले मातहतका जिल्लामा विदाको घोषणा गरिएको थिया । तर केन्द्र सरकारले विदा नदिएका कारण केन्द्र सरकार मातहतका अधिकाशं सरकारी कार्यालय सञ्चालन भएको ति कार्यालयका प्रमुखहरुले बताएका छन् । सार्वजानिक विदा भन्ने सुनेका अधिकाशं सर्वसाधरण सेवा लिन नआएपछि ती कार्यालय पनि दिनभर सुनसान प्राय देखिन्थे । जरुरी काम परेपनि संचारमाध्यममा विदा भनेर सुनेका स्थानीयहरु कतिपय अलमलमा परेका थिए ।


