कैलासबावु श्रेष्ठ/गोरखा
पौष १३ गते । बिनाशकारी भूकम्प पछि जोखिममा रहेको गोरखाको केरौजाबासीहरुले लामो समय पछि जग्गा धनी प्रमाणपुर्जा हात पारेका छन । भूकम्प गएको ४५ महिना पछि उनीहरुलाई नेपाल सरकारले स्थायी बसोबासको लागि जग्गा धनी प्रमाणपुर्जा दिएका हुन ।
०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले पुरै गाउँनै विस्थापित हुने गरी जोखिममा परेको केरौजाबासीलाई उनीहरुले नै खोजेको स्थानमा स्थानान्तरको लागि सरकारी स्तरबाट खरिद गरी जग्गाको प्रमाणपुर्जा वितरण गरीएको हो ।
स्थानान्तरण गनुपर्ने ३ सय ४७ घर मध्ये अहिले सम्म १ सय ९३ घर परिवारलाई मात्र पुर्जा हस्तान्तरण गरीएको छ । बाँकीको लागि भने जग्गा नपाएको कारण अझै पनि स्थानान्तरणको लागि पुर्जा उपलब्ध गराउन नसकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाको कार्यालयले जानकारी दिएको छ ।
पुर्जा पाएका मध्ये ४७ घर परिवारले यो बर्षको असार अगाडी नै प्राप्त गरेकाले भने घर सम्पन्न गर्न लागि सकेको छन भने बाँकीले भने अब देखी बनाउन शुरु गर्ने छन । पछिल्लो पटक पुर्जा पाउनेहरुले आउदो ३ महिना भित्रै पहिलो किस्ता लिइ सक्नुपर्ने प्रावधान राखीएको छ ।
भू–गर्वविदको अध्ययन पछि साविकको केरौजा गाविसको १, २, ३ र ४ नम्वर वडाका ३ सय ४७ घर धुरीलाई सुरक्षित स्थानमा सानुपर्ने निष्कर्ष निकालेको थियो । अझै केरौंजाका १ सय ५४ घर परिवारले पूर्जा पाउन बाँकी छ ।
जोखिम वस्तीका भूकम्पपीडितलाई सरकारले दुइ लाख सम्म जग्गा खरिदका लागी उपलब्ध गराउदै आएको छ । उनिहरुले घर पूर्ननिर्माणका लागि ३ लाख समेत पाउने छन ।




















