गोरखा समाचारदाता
मनास्लु पदमार्गको प्रवेशद्धारा आरुघाटमा पर्यटन सूचना केन्द्र स्थापना हुने भएको छ । केही वर्ष अघि देखि अलपत्र परेको उक्त कार्यलाई गाउँपालिकाले अगाडी बढाएसँगै सूचना केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको हो । ‘पर्यटन मन्त्रालयको पहलमा पहिलेबाट नै काम सुरु भएको थियो’ गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘अहिले हामी आएपछि उक्त कामलाई प्राथमिकतामा राखेर अघि बढाएका छौं ।’
पर्यटन मन्त्रालय र साबिकको जिल्ला बिकास समितिको लगानीमा आरुघाटबजारमा सूचना स्थापनाको लागि भवन निर्माण कार्य सुरु भएको थियो । त्यक्तिबेला करिब १९ लाख लागतमा भवनको आधारभूत संरचना बने पनि रकम अभावका कारण बिचैमा अलपत्र परेको थियो । ‘पहिले केही संरचना बने पनि भवन निर्माणको काम अलपत्र थियो’ गाउँपालिका अध्यक्ष दाहालले भने ‘त्यसलाई पूर्णता दिन गत आर्थिक वर्षमा बजेट छुट्याएका थियौं जसले गर्दा भवन निर्माण कार्य सम्पन्न भएको छ ।’ गाउँपालिकाले गत आर्थिक वर्षको करिब १२ लाख रकम खर्च गरी भवन निर्माण सम्पन्न गरेको हो ।
अन्य ४ कोठा र अपाङ्गमैत्री सूचनाकेन्द्र कक्ष सहितको भवन निर्माण सम्पन्न भइसकेको छ । त्यसलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘भवन निर्माणको काम त सम्पन्न भइसकेको छ’ उनले भने ‘अब यसलाई प्रविधिमय बनाएर व्यवस्थित गर्ने काम बाँकी छ ।’ पर्यटन मन्त्रालयका विज्ञहरु ल्याएर सूचना केन्द्रको अवलोकन गराउने र आवश्यक सामाग्रीहरु संकलन गरी त्यसलाई सञ्चालन गर्ने तयारी गरिएको आरुघाट गाउँपालिकाले जनाएको छ ।
नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य मनास्लु पदमाग जानेहरु आरुघाट भएर जाने हुनाले पर्यटकहरुका लागि आवश्यक पर्ने सबै खालको सूचनाहरु संकलन गरी त्यसलाई व्यवस्थित गर्ने योजनामा रहेको दाहालले बताए । गोरखाको दोश्रो व्यापारिक केन्द्रको रुपमा परिचत आरुघाट पर्यटकिय क्षेत्र पनि हो । ‘हामी सामाग्रीहरु खोज्छौं, पर्यटन मन्त्रालयका विज्ञहरु आएर त्यसलाई हेर्नुहुन्छ’ अध्यक्ष दाहालले भने ‘उहाँहरुले स्वीकृती दिएसँगै सूचना केन्द्र सञ्चालनमा आउँछ ।’
उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका प्रवेशको प्रमुखद्धार आरुघाट बजारलाई व्यस्थित गर्दै पर्यटकीय गन्तव्यको रुपमा अगाडी बढाउन पनि उक्त सूचना केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने गाउँपालिकाको विश्वास छ । आरुघाटबाट मनास्लु पदमार्ग हुँदै लार्केपास, मनास्लु हिमाल आरोहण, चुमनुब्री उपत्यकाको अबलोकन लगायत चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको विभिन्न ठाउँमा पर्यटकहरु जाने गर्छन । उक्त सूचनाकेन्द्रमा सो क्षेत्रमा जाने पर्यटकहरुका लागि आवश्यक सबै खालका सूचना र पर्यटकिय स्थलहरुको जानकारी राखिने आरुघाट गाउँपालिकाको तयारी छ ।


