गोरखा समाचारदाता
जिल्लाका तमु समुदायले उपेक्षामा परेको गुनासो गरेका छन् । तमु ह्युल छोँज धी गुरुङ्ग राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति गोरखाले गरेको पत्रकार सम्मेलन तथा चियापान कार्यक्रममा बोल्दै तमु अगुवाहरुले उक्त गुनासो गरेका हुन् । ‘ल्होसार जस्तो महोत्वपूर्ण पर्वको शुभकामना आदानप्रदान कार्यक्रम पनि कालो ब्यानर राखेर गर्नु परेको छ’ परिषद्का जिल्ला अध्यक्ष रामबहादुर गुरुङ्गले भने ‘यो भन्दा ठूलो पिडा हामीलाई अरु के होला ?’ अन्तरिम संबिधानमा समेत उल्लेख भएको ल्होसार बिदा कटौंती गरी राज्यले आदिबासी जनजातीको अपमान गरेको उनले गुनासो गरेका छन् । तत्कालिन समयमा राजपत्रमा समेत प्रकाशित भएको उक्त कुरा नयाँ संबिधान बनेपछि निर्माण भएको बर्तमान सरकारले लत्याएको आरोप उनीहरुको छ । ल्होसारमा सार्वजानिक बिदाको माग गर्दै सघर्ष गरिरहेका तमु समुदायले राजनितिक दहरुले समेत तमुहरुको भावना नबुझेको भन्दै दुखसो गरेका छन् । ‘हाम्रो भोटले उहाँहरु सत्तामा पुग्नु हुन्छ’ परिषद्का केन्द्रिय सदस्य जगनसिं तमुले भने ‘तर अहिले उहाँहरुले हामीलाई विर्सनु भयो । हामीले यो कुरा सम्झिरहने छौं । चुनाव त फेरी आइहाल्छ ।’
जिल्लामा क्रियाशिल राजनितिक दलहरुले समेत तमुहरुको माग प्रति उपेक्षा गरेको उनीहरुले बताएका छन् । मंगलबार गरिएको पत्रकार सम्मेलन तथा चियापान कार्यक्रममा जिल्लामा क्रियाशिल कुनै पनि दलका नेताहरुले सहभागीता नजाएको प्रति उनीहरुले गम्भिर आपत्ती जनाएका छन् । ‘म आफलैले सबैलाई चिठ्ठि काटेका हुँ तर कोही पनि आउनुभएन, हाम्रो अधिकार खोसिएको बेला उहाँहरुले केही बोलिदिनु होला भन्ने लागेको थियो’ उनले भने ‘अब चुनावमा त आउनुहोला त्यति बेला के जवाफ दिनुपर्छ हामी आजै देखि तयार छौ ।’
कार्यक्रमका प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले तमु समुदायको माग प्रति आफ्नो ऐक्बद्धता रहेको बताएका थिए । सोही अनुरुप नगरकार्यपालिकाले ल्होसारको दिन गोरखा नगरपालिका भित्रका शैक्षिक सस्थालाई बिदा दिने निर्णय गरेको छ । परिषद्का जिल्ला अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, पूर्व अध्यक्ष जगनसिं तमु लगायतले मन्तव्य राखेका थिए । ल्होसारमा सार्वजानिक बिदा नदिएको भन्दै तमु ह्युल छोँज धी गुरुङ्ग राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति गोरखाले आज जिल्ला प्रशासन घेराउने गर्ने बताएको छ ।




















