दीपक श्रेष्ठ/गोरखा
४ पुस । गोरखामा जिल्लामा व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका कृषकहरुलाई परिचय पत्र बितरण गर्न शुरु गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत परियोजना कार्यान्वयन इकाई सुन्तला जात फलफुल जोन गोरखाले व्यवसायिक सुन्तला खेती गर्दै आएका किसानहरुलाई परिचय पत्र बितरण गर्ने काम शुरु गरेको हो । जस अन्र्तगत जिल्लाको शहिद लखन गाउँपालिका–२ मनकामनाका कृषकहरुलाई पहिलो चरणर्मा परिचय पत्र बितरण गरिएकोे परियोजनाका गोरखा प्रमुख अजय अधिकारीले जानकारी दिनुभयो ।
कृषकहरुलाई व्यवसायिक खेतीमा थप प्रेरणा प्रदान गर्न र उहाँहरुको उत्पादनलाई व्यवस्थित गर्न परिचय–पत्र बितरण गरिएको प्रमुख अधिकारीको भनाई छ । परियोजनाले चालु आर्थिक बर्षमा जिल्लाभरका १२ सय अमिलोजातका फलफुलको व्यवसायिक खेती गर्दै आएका किसानहरुलाई परिचयपत्र बितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
‘जिल्लामा सुन्तला जोन क्षेत्रभित्र परेका सवै कृषकहरुलाई परिचयपत्र बितरण गर्ने तयारी गरेका छौ, उहाँले भन्नुभयो, गोरखामा पहिलो पटक परिचयपत्र बितरणको काम शुरु भएको हो ।’ परिचय पत्र लिन किसानहरुले निबेदन संगै २ प्रतिफोटो, नागरिकताको फोटोकपी र लालपुर्जाको फोटोकपी बुझाउनु पर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
परिचय पत्रका लिन चाहाने कृषकहरुले कम्तीमा २० बोट सुन्तला, अमिलो, कागती वा अमिलोजातका फलफुलको खेती गरेको हुनुपर्ने परियोजनाका सन्चालन समितिका संयोजक धुव्र प्रसाद खनालले जानकारी दिनुभयो । यसले उहाँहरुलाई थप हौसला प्रदान गर्छ भन्ने बिश्वास लिएका छौ ।’ उहाँले भन्नुभयो । परिचय मार्फत कृषकहरुले बारी लगाएका सुन्तलाको बोटको संख्या, उत्पादन भइरहेका बोटका संख्या र हर्कदै गरेका सुन्तलाको बोटको जानकारी लिन सकिने संयोजक श्रेष्ठले बताउनुभयो ।
परिचय पत्र बितरण गरेपछि अबदेखि कृषकलाई उपलब्ध गराउने अनुदानलाई समेत व्यवस्थित गर्न सजिलो हुने उहाँले भनाई छ । ‘परिचय पत्रमा गतबर्ष कति उत्पादन र आम्दानी ग¥यो, कति अनुदान प्राप्त ग¥यो भन्ने सवै बिबरण उल्लेख गरिने हुदा उत्पादन अनुसार सवैलाई समान अनुदान उपलब्ध पनि गराउन सजिलो हुनेछ ।’ संयोजक श्रेष्ठले भन्नुभयो । परिचयपत्रले किसानहरुलाई समेत म कृषक हु भनेर गर्व गर्न पाउने अबस्थाको सृजना भएको सहिद लखन गाउँपालिका वडा नम्बर २ मनकामनाका वडाध्यक्ष अचलबाबु थापाले बताउनुभयो ।
परियोजनालाई समेत कृषकहरुले कसरी काम गरेका रहेछन् भन्ने जानकारी परिचयपत्र बाटै हुने हुदा यसले परियोजना र कृषक दुवैलाई लाभ मिल्ने उहाँको भनाई छ । ‘यसले कति रोपनीमा खेती गर्दा कतिसम्म आम्दानी गर्न सकिदो रहेछ, हरेक बर्ष कती सुन्तलाको बोट मरयो, कति सुन्तलाको थप बोट रोपियो भन्ने सम्मको जानकारी राख्न सजिलो हुन्छ ।’ वडाध्यक्ष थापाले भन्नुभयो ।
वडाध्यक्ष थापाले परियोजनाको सुन्तलाजात फलफुल जोन कार्यक्रममा अझै धेरै कृषकहरु नजोडिएकाले परिचय पत्र बितरण पछि छुटेका किसानहरुलाई पनि कार्यक्रममा सहभागी गराउन सजिलो हुने बताउनुभयो ।




















