गोरखा समचारदाता
भर्खरै मात्र जिम्मेवारी सम्हालेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिल्लाको अबस्था बारे सरोकारवालाहरुसँग छलफल गरिरहेका छन् ।
सोमबार छुट्टाछुट्टै रुपमा प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठ र प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जिल्लाको बस्तोस्थितीबारे पत्रकार तथा सञ्चारकर्मीसँग जानकारी लिएका हुन् ।
सोही क्रममो बोल्दै प्रजिअ श्रेष्ठ आफू राज्यको कानून पालना गराउन गोरखा आएको भन्दै उक्त विषय कसैसँग पनि सम्झौता गर्ने दाबी गरेका छन् । ‘म केन्द्र सरकारको प्रतिनिधिको रुपमा गोरखा आएको हुँ । मेरो मुख्य दायित्य नागरिकको जिउ धनको रक्षा गर्नु हो’ उनले भने ‘उक्त कुरामा कसैसँग पनि कम्प्रमाइज हुँदैन ।’
शान्ति सुरक्षा कायम गर्नु आफ्नो मुख्य काम भएको भन्दै उनले त्यसको अलवा चोरी तस्करी रोक्ने, पूर्णनिर्माणको कामलाई व्यवस्थित गर्ने, बुढीगण्डकी आयोजनाको बाँकी मुआब्जा निर्धारण गर्ने, निर्धारण भएको क्षेत्रको मुआब्जा रकम बितरण गर्ने लगायतका कामलाई पनि प्राथमिकतामा राख्ने बताए । केही दिन अघि तत्कालिन प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई र प्रहरी प्रमुख एसपी बिमल बस्नेतको एकै चोटी सरुवा भएको थियो । त्यसपछि श्रेष्ठ प्रमुख जिल्ला अधिकारी र एसपी रावल प्रहरी प्रमुखको रुपमा गोरखा आएका हुन ।

यसैगरी एसपी रावलले पनि जिल्लाबासीलाई शान्ति सुरक्षाको पुर्ण प्रत्याभुती गराउने दाबी गरेका छन् । ‘प्रहरीको काम ल एण्ड अडरलाई मेन्टेन गर्ने हो’ उनले भने ‘उक्त कुरामा कसैसँग पनि सम्झौता हुँदैन ।’ सबै नागरिक बर्दी बिनाको प्रहरी रहेको भन्दै उनले सबैको साथ सहयोगले मात्र जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरी मद्दत मिल्ने बताए । सोका लागि नागरिकसँग हातेमालो गरेर काम गर्ने उनको भनाई छ । जिल्ला आए देखि उनीहरुले विभिन्न व्यक्तिहरुसँग छलफल गरी सुझाव संकलन गरिरहेका छन् ।


