गोरखा समाचारदाता
शहिद लखन गाउँपालिकाले खेलकुद मैदान निर्माण गर्ने भएको छ । खेलकुद क्षेत्रको विकासका लागि शहिद लखनले पालिका स्तरको खेलकुद मैदान निर्माण गर्ने निर्णय गरेको हो । ‘हामीसंग अहिले खासै राम्रो मैदान छैन, अब गाउँपालिकाकै नेतृत्वमा पालिका स्तरको ग्राउण्ड बनाउने तयारी गर्दैछौ’ गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले भने ‘ग्राउण्डको अभावले पनि हामीले सोचे अनुसार खेलकुद गतिविधी अघि बढाउन सकेका छैनौ ।’
खेलकुद मैदान निर्माणका लागि अध्ययन र जग्गा खोजीको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । जग्गा प्राप्तीका लागि कार्यपालिकाको बैठकले केहि मापदण्ड समेत तोकेको अध्यक्ष थापाले बताए । ‘कार्यपालिकाको बैठकबाट खेलकुद मैदान निर्माणका लागि प्रकृया अघि बढाउने निर्णय भएको छ, त्यसका लागि केहि मापदण्ड पनि बैठकले निर्धारण गरेको छ’ उनले भने ‘सोही अनुसार हामी प्रकृया अघि बढाउदैछौ, सकेसम्म निशुल्क र नभए सशुल्कै भएपनि जग्गा खोजीको तयारीमा छौ ।’
गाउँपालिका स्तरको खेलकुद मैदान निर्माणका लागि शहिद लखनले यस बर्ष १५ लाख रकम बिनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आले मगरले जानकारी दिए । सकेसम्म गाउँपालिका केन्द्र रहेको घैरुङ्ग आसपास क्षेत्रमा जग्गाको खोजी भइरहेको उनले बताए । ‘गाउँपालिका स्तरको मैदान भएकाले सकेसम्म केन्द्र वरिपरीलाई हाम्रो प्राथमिकता छ’ आलेले भने ‘त्यसका लागि १५ रोपनीभन्दा बढि जग्गा आवस्यक पर्नेहुन्छ ।’
शहिद लखनमा मैदान निर्माणका लागि गण्डकी प्रदेशले समेत १५ लाख छुट्याएको गाउँपालिकाले जनाएको छ । केन्द्र आसपासमा पालिका स्तरको मैदान निर्माण गर्ने र अन्य वडाहरुमा सहायक स्तरको खेलकुद मैदान बनाउने गरी तयारी भएको प्रमुख प्रशासकिय अधिकृत आलेले बताए । ‘हाम्रो तार्गेट केन्द्र मात्रै होइन, सबै वडा हो, एउटा मुख्य र अरुमा सहायक मैदान निर्माण हुन्छ’ उनले भने ‘मैदान नहुदा कार्यक्रम, सभा, सम्मेलन गर्न पनि असहज भएको छ ।’
त्यस्तै कार्यपालिका बैठकले गाउँपालिका स्तरको खेलकुद विकास समिति गठनको समेत तयारी थालेको छ । खेलकुद क्षेत्रको विकास, प्रवद्र्धन र ब्यवस्थित गर्ने उदेश्यले पालिकास्तरको विकास समिति गठनको तयारी भएको उनले बताए । समितिमा गाउँपालिकाभित्रका सबै क्लबहरुको प्रतिनिधित्व हुने बताइएको छ । समितिले बिशेषगरी पालिकाभित्र हुने हरेक खेलकुद गतिविधीलाई ब्यवस्थित र स्वस्थरुपमा समन्वयकारी भुमिका निर्वाह गर्न मुख्य भुमिका खेल्ने बिश्वास लिइएको छ ।




















