नरेन्द्र ढकाल/गोरखा
मंसिर २५ गते । जिल्ला सदरमुकामको फुटपाथ व्यवस्थापनको चर्चा चलेको लामो समय भइसके पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन । ठुलो व्यवसायीले मनपरी गर्दा पनि नरपालिका र प्रहरी दुबै मौन रहेको स्थानीयले आरोप लगाएका छन् । ‘ठुलोबडाले जे गरेपनि हुनी’ वसपार्क एक व्यापारीले भने ‘हामीले गरेको भए उहिल्यै पुलिसले समातेर लगिसक्थ्यो ।’ विशेषगरी जिल्ला सदरमुकाममा रहेका ठुला थोक बिक्रेताहरुले फुटपाथ छेकेर गाडी पार्किङ गर्ने, लोड अनलोड गराउने, मानिस हिड्ने सडकपेटीमा सामान राखेर व्यापार गर्ने लगायतका काम हुँदा पनि कारवाही हुन सकेको छैन् । गोरखाबजार क्षेत्रका अधिकाशं सडकपेटी कहीँ न कहीँ अतिक्रमण भइरहेको छ । मुख्य सडकको दुई साइडीमा हुने व्यक्तिगत संरचना निर्माण कार्यका लागि वर्षौ सम्म सामाग्री थुपार्दा पनि नगरपालिकाले हटाउन सकेको छैन । ‘यहाँ सक्नेले वर्ष दिनसम्म रोडमै सामान राखेर घर बनाएका छन’ हरमटारीका एक स्थानीयले भने ‘प्रहरी प्रशासन, नगरपालिका सबैले देखे पनि नदेखे जस्तो गर्छ ।’
विशेषगरी खोलखोले देखि बसपार्कसम्म सडकका दायाँबायाँ व्यापार व्यवसाय र पूर्वाधार निर्माण गर्नेहरुले सडक पेटी अतिक्रमण गरेको देखिन्छ । सप्लायर्सहरुले ढुवानीका लागि जिल्ला ल्याउने ठुला सवारी साधनका कारण फुटपाथ एवं सडक समेत भत्किन थालेको कतिपयको गुनासो छ । फुटपाथ अतिक्रमण भएसँगै दुर्घटनाको जोखिम पनि बढेको ंंछ । जथाभावी प्रार्किङले झनै समस्या समस्या बनाएको छ । ‘मान्छे हिड्ने ठाउँमा सामान राखिएको छ, पार्किङ त्यस्तै छ’ बैकंरोडमा भेटिएका बिक्रम गुरुङले भने ‘सडक पेटीबाट हिडौं बाटो छैन, रोडबाट हिड्दा गाडीले हान्छकी भने डर ।’
फुटपाथ व्यवस्थापनका लागि नगरपालिकाले काम गरिरहेको मेयर रानराज पन्तले दाबी गरेका छन् । ‘फुटपाथ अतिक्रमण गरी बनाएका संरचना हटाउने हाम्रो अभियान नै छ’ उनले भने ‘व्यापारी साथीहरुले केही समय माग्नु भएको थियो अब त त्यो समायावदी पनि सकिएको छ, अब हटाउन सुरु गछौं ।’ केही समय अघि नगरपालिकाले अतिक्रमण गरी बनाइएका टहरा भत्काउन सुरु गरेपछि त्यहाँका व्यापारीहरुले ४ महिनाको समय मागेका थिए । उक्त समय मंसिर मसान्तमा सकिदैछ । ‘चाहे ठुलो व्यापारी हुन चाहे सडक पेटी मिचेर टहरा बनाई व्यपार गर्नेहरु हुन, हामी सबैलाई हटाउछौं’ नगरप्रमुख पन्तले भने ‘निर्माण सामाग्री जथाभावी राख्न पाइदैन उहाँहरु पनि कारवाहीको दायरामा पर्नुहुन्छ ।’ नगरपालिकाले ठुलो आँगन क्षेत्रलाई व्यवस्थित बनाइसकेको भन्दै उनले बाँकी क्षेत्रमा पनि छिट्टै अभियान चलाउने बताए ।


