गोरखा समाचारदाता
मंसिर २५ गते । जिल्लामा एक साता भन्दा बढि समय देखि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख दुबै छैनन् । साबिकका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई सुरुवा भएपछि मंगलबार उनको बिदाई गरिएको थियो । एक दिन सरुवा भएका एसपी बिमल बस्नेतले पनि सोही दिन जिल्ला छोडेका थिए । नयाँ प्रजिअको रुपमा गजेन्द्रबहादुर श्रेष्ठ आउने भनिए पनि अहिलेसम्म उनी जिल्ला आएका छैनन् । यसरी गरी एसपी भोलाबहादुर रावल पुराना एसपी बस्नेत गएको एक साता बितिसक्दा जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छैनन् ।
आकस्मिक रुपमा एकै दिन सिडिओ र एसपी दुबैको सरुवा भएपछि अचम्मित भएका जिल्लाबासीले एक साता बित्दा पनि नयाँ प्रमुखहरु पाएका छैनन् । सिडिओ र एसपी आउन ढिलाई हुँदा अनेक राजनितिक चलखेल भएको आशंका गर्नेहरु पनि धेरै छन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठ बिहिबार/शुक्रबार सम्म आउने तयारी रहेको प्रशासन स्रोतको भनाई छ । एसपी रावल भने कहिले आउने भन्ने कुरा एकिन भएको छैन ।
जिल्लाको प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा प्रमुख नहुँदा महत्वपूर्ण केही काम हुन नसके पनि नियमित काम भने नरोकिएको ती कार्यालयहरुले बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल समेत तालिमको शिलशिलामा जिल्ला बाहिर छन् । सामान्य नागरिकता र राहदानीको काम भने रोकिएको छैन । तर अहिले मुद्दा सुनुवाइँको काम ठप्प छ । प्रहरीले आरोपीलाई २५ दिन सम्म अनुसन्धानको लागि राख्न मिल्ने कानूनी व्यवस्था भएका कारण केही दिन प्रजिअ नहुँदा त्यसले असर नगर्ने प्रशासनका कर्मचारीहरु बताउँछन् । सिडिओको अभावमा पेन्सन क्याम्पमा बुझाउने काजगातहरु समेत बन्न सकेका छैनन् ।
पछिल्लो समय जिल्लाको प्रशासनिक निकाय राजनितिक चपेटामा पर्ने गरेको गरेका छन् । प्रहरी प्रशासनका प्रमुखहरुलाई छिटो/छिटो सरुवा गर्ने प्रवृत्तिले तरलता निम्त्याएको सरोकारवालाको गुनासो छ । नयाँ कार्यालय प्रमुख आएर जिल्लाको वस्तोस्थित बुझ्न नपाउँदै सरुवा हुँदा प्रशासनिक तरलता देखिनुका साथै जिल्लाको सुरक्षा व्यवस्था फितालो बन्दै गएको छ ।




















