दिपक श्रेष्ठ/गोरखा
मंसिर १८ गते । गोरखाको गण्डकी गाउँपालिका– ८ ले वडा भित्रका युवाहरुलाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सन्चालन गरेको छ । वडा कार्यालयले युवाहरुलाई स्वदेशमै कृषि, पशुपालन लगायतका पेशा व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सन्चालन गरिएको वडाध्ययक्ष राम प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
वडा कार्यालयले वडाभित्रका बिभिन्न ७ स्थानको पहिचान गरी चालु आर्थिक बर्षका लागि कार्यक्रम शुरु गरेको उहाँले बताउनुभयो । ‘कार्यक्रममा सहभागी हुन चाहानेहरुका लागि निवदेन आवहन गरी सकिएकोे छ,’ वडाध्यक्ष रेग्मीले भन्नुभयो,‘ समुहमा आउनेलाई प्राथामिकता दिएर छनोट गर्ने तयारी गरेका छौ ।’
स्वरोेजगार कार्यक्रममा सहभागी हुने व्यक्ति वा समुहले उत्पादनमुलक पेशा व्यवसाय गनुपर्ने र कम्तीमा ५ बर्ष सोही पेशालाई निरन्तरता दिनेलाई मात्र कार्यक्रममा सहभागी गराईने उहाँले बताउनुभयो । ‘पुराना पेशा व्यवसायहरु आरन पेशा, सूचीकार पेशा, कुखुरा पालन व्यवसाय, कृषि व्यवसाय गर्नेहरुलाई पहिलो प्राथामिकता दिने भनेका छौ, वडाध्यक्ष रेग्मीले भन्नुभयो, ‘धेरै निवदेन परेकाले प्राथामिकताका आधारमा छनोट गरिनेछ ।
कार्यक्रम अन्र्तगत वडाले प्रतिकलस्टर व्यक्तिलाई कम्तीमा ५० हजार र समुहलाई २ लाख रुपैयासम्मको अनुदान सहयोग गर्ने उहाँले बताउनुभयो । अधिकांस युवाहरु सामान्य रोजगारीका लागि बिदेशिने गरेकाले युवाहरुलाई स्वदेशमै बसेर पनि काम गर्न सके आत्मानिर्भर बन्न सकिन्छ प्रेरणा दिन कार्यक्रम शुरु गरिएको वडाध्यक्ष रेग्मीको भनाई छ ।
तरकारी खेतीको राम्रो सम्भावना बोकेको भम्लिचोकमा व्यवसायिक खेती गर्न सके यहि राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । ‘अहिले युवाहरु महिनामा २०/३० हजार रुपैया कमाउन बिदेश पुग्छन्, यहि तरकारी खेती गरेर मासिक ५० हजार कमाउनेहरु पनि छन्,’ वडाध्यक्ष रेग्मीले भन्नुभयो, हामीले युवाहरुलाई त्यो कुरा बुझाउन सकेनौ ।’ युवाहरुलाई गाउँमै राखेर आत्मानिर्भर बनाउन सकेको गाउँको मुहार फेरिन समय नलाग्ने उहाँको भनाई छ ।


