गोरखा समाचारदाता
गोरखाबजारलाई सीसीटीभीको निगरानीमा राखिएको छ । गोरखा नगरपालिका, जिल्लाका विभिन्न व्यवसायिक सघंसस्था, उद्योगी, व्यापारीहरुको सहयोगमा सामुदायिक सेवाकेन्द्रले जडान गरेको सीसीटीभी क्यामेरा सोमबार उद्घाटन भएसँगै औपचारिक रुपमा बजार क्षेत्र सीसीटीभीको निगरानीमा परेको हो । जिल्ला प्रहरी कार्यलयमा आयोजित एक कार्यक्रमका वीच सीसीटिभीको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले अब सदरमुकामको शान्ति सुरक्षा थप सुदृढ हुने विश्वास व्यक्त गरे । ‘साह्रै राम्रो काम भएको छ, सीसीटीभी सुरु गर्न पाउँदा निकै खुसि लागेको छ’ उनले भने ‘यसले जिल्ला सदरमुकामको सुरक्षा व्यवस्था थप मजबुद हुन्छ भन्ने मेरो विश्वास छ ।’

यसैगरी प्रहरी नायव महानिरीक्षक दानसिंह बोहोराले नागरिकको जिउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको मुख्य काम भएको भन्दै यसले प्रहरीलाई काम गर्न सजिलो बनाउने बताए । ‘सीसीटीभीले प्रहरीको कार्यसम्पादनमा पनि ठूलो मद्दत पु¥याउछ’ उनले भने ‘म्यानपावर समय दुबै बचत हुँदा प्रहरीले अन्य धेरै काम गर्न पाउँछ ।’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले सीसीटीभीले जिल्ला सदरमुकामको शान्ति सुरक्षा कायम गर्न, अपराधका घटना न्यूनीकरण गर्न, फोहोरमैला व्यवस्थापन गर्न, जथाभावी हुने पार्किङ रोक्ने जस्ता काममा मद्दत पु¥याउने विश्वास व्यक्त गरेका छन् । ‘यसले शान्ति सुरक्षा र अमनचयन कायम गर्न मुख्य भुमिका त खेल्छ नै’ उनले भने ‘साथै बजार केन्द्रित रहेको प्रहरी जनशक्तिलाई अन्य क्षेत्रमा परिचालन गर्न पनि अब सहयोग पुग्ने छ ।’ पछिल्लो समय जिल्ला सदरमुकाममा बढेका अपराधका घटना, ट्राफिक नियम उल्लंघन, जथाभावी पार्किङ जस्ता गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न सीसीटीभीले महत्वपूर्ण भुमिका निर्वाह गर्न प्रहरीको विश्वास छ ।जिल्ला प्रहरी कार्यलय भित्र राखिएको नियन्त्रण कक्षबाट २४ सै घण्टा बजार क्षेत्रको निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्युतलाल श्रेष्ठको अध्यक्षतामा भएको हस्तान्तरण एवम उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रहरी नायव महानिरीक्षक बोहोरा, गोरखा नगरपालिकाका प्रमुख पन्त, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए । गोरखा नगरपालिका वडा नम्बर ८ खोलखोलेदेखि पेट्रोलपम्प हुँदै प्रतिक्षालय, हरमटारी, कालीमाटी, शक्तिचोक, पुरानो बसपार्क देखि नयाँ बजार हुँदै नयाँबसपार्क लगायत गरी ३९ वटा क्यामरा जडान गरिएको संयोजक कैलाशबाबु श्रेष्ठले बताए ।

यसैगरी पुरानो बसपार्कबाट बिपिचोक, धारापानी हुँदै रोहोटेपानीसम्म र बिपिचोकबाट पदेली, ठुलो आँगन, तिनधारे, पाटचौर अस्पतालचोक, घ्याम्पेसाल चोक हुँदै लोकतान्त्रिक चोकसम्मको क्षेत्रमा पनि क्यामारा जडान गरिएको छ । दुई वटा पिटिजेट क्यामेरा सहित ३९ वटा क्यामेरा जडान गरिएको सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष एवम कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । क्यामेराको कन्ट्रोल रुम भने जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

२६ लाख ७७ हजार लागतमा बजार क्षेत्रभर सिसि क्यामेरा जडानको काम सम्पनन भएको सेवा केन्द्रले जनाएको छ । सोका लागि गोरखा नगरपालिकाले १८ लाख रकम सहयोग गरेको छ भने अन्य बित्तिय संस्था, सामाजिक संघसंस्था, टोल विकास संस्थाहरु लगायतबाट ४ लाख ७७ हजार रकम उठेको कार्यक्रम संयोजक श्रेष्ठको भनाई छ ।

यसैबिच सोमबारै गोरखा नगरपालिकाले पूरानो बसपार्क परिसरमा निर्माण गरेको आइल्याण्ड र गोरखा संग्रहालय परिसरमा फ्रि वाइफाईको समेत उद्घाटन गरिएको छ । झण्डै ११ लाख को लागतमा निर्माण भएको आइल्याण्डमा पानीको फोहोरा समेत बनाईएको छ । ‘हाम्रो गोर्खा, राम्रो गोर्खा, गन्तब्य गोर्खा’ नारा सहित नगरलाई पर्यटकिय र धार्मिक स्थलका रुपमा विकसित गर्ने उदेश्यले आइल्याण्ड निर्माण र फ्रि वाईफाई सुरु गरिएको नगरप्रमुख पन्तले बताए । आइल्याण्ड र फ्रि वाइफाईको छुट्टाछुट्टै कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ्गले उद्घाटन गरेका हुन ।


