गोरखा समाचारदाता
सरकारले लामो समय देखि अलपत्र परेका सिंचाईको काम अघि बढाउने भएको छ । २०६३ सालदेखि अलपत्र अवस्थामा रहेको कुन्दुरटार सिंचाई र केही वर्ष यता चर्चामा रहेको पालंटार सिंचाई आयोजनाको काम अगाडी बढाउन छुट्टै कार्यलय स्थापना गरिएको छ ।
बषौदेखि अलपत्र अवस्थामा रहेको आयोजना निर्माणले अब भने गति लिने आयोजना प्रमुख डा. देवनारायण शाहले बताए । ‘यस अघि के भयो थाहा छैन, अब आयोजना बन्छ, त्यो पक्का हो’ शाहले भने ‘हामी पालुंटारको ५ बर्ष भित्र र कुन्दुरटारको ३ बर्षभित्र सक्ने गरेर अघि बढेका छौ ।’ गोरखा नगरपालिका ८ मा स्थापना भएको पालुंटार–कुन्दुरटार सिंचाई आयोजनाको कार्यालयले कुन्दुरटार सहित पालुंटार सिंचाइ योजनाको समेत जिम्मेवारी पाएको छ ।
यसअघि नै डिपिआर समेत तयार भई निर्माण कार्यको समेत थालनी गरेको यी आयोजना बिचमै अलपत्र परेका थिए । सरकारले आयोजना निर्माणका लागि हरेक बर्ष बजेट बिनियोजन गर्ने गरेको भएपनि काम अघि बढ्न नसक्दा पटक÷पटक बजेट फिर्ता हुदै आएको थियो ।
आयोजना निर्माणका लागि चालु आर्थिक बर्ष २०७५÷७६ मा पालुंटार सिंचाई र कुन्दुरटार सिंचाईका लागि १ करोड ८५ लाखका दरले दुवै योजनालाई जलस्रोत तथा सिंचाई मन्त्रालयले बजेट छुट्याएको छ । यसअघि सिंचाई डिभिजन कार्यालय गोरखा र क्षेत्रिय सिंचाई निर्देशनालयले आयोजनाको केहि काम सम्पन्न गरेको बताएपनि केकति काम भएको हो भन्ने बारे आफुसंग रेकर्ड नभएको आयोजना प्रमुख शाहले बताएका छन् । ‘पहिला पनि काम भएको थियो भन्ने सुनेको हो, के काम कति भयो हामीसंग रेकर्ड छैन’ उनले भने ‘अब त्यो तथ्यांक पनि खोज्ने क्रममा छौ ।’
आयोजनाको कार्यालयले हालसम्म स्थलगत निरिक्षण, स्थानीयसंग छलफल र नयाँ डिपिआर तयार गरिसकेको जनाएको छ । आयोजना निर्माणका लागि स्थानीयसंग सहकार्य र समन्वय गरी स्थानीय स्तरकै स्रोत साधनलाई भरपुर उपयोग गर्दै काम अघि बढाउने कार्यालयले योजना बनाएको प्रमुख शाहको भनाई छ । ‘पहिला के कारणले काम हुन सकेन त्यतातिर हामी जादैनौ, अब कसरी छिटो काम गर्ने त्यतातिर हाम्रो ध्यान केन्द्रित छ’ शाहले भने ‘पहिलाका प्रवृत्तीलाई सुधार गरेर अबको ३ र ५ बर्षभित्रै आयोजना सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’
५१ किलोमिटरको दुरी तय गरेको पालुंटार सिंचाइ योजनाले पालुंटारको ४ सय २६ हेक्टर, गाइखुरटारको ३ सय ५७ हेक्टर, च्यांलीटारको १ हजार १ सय ९० हेक्टर जमिनलाई सिञ्चित गर्ने बताइएको छ । १ अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको यो योजना ५ बर्षभित्र सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । त्यस्तै कुन्दुरटार सिंचाई योजनाले गोरखा नगरपालिकाको वडा नम्बर ३, ५, १०, ११ र १२ वडाका जमिनलाई सिंचीत गर्नेछ । १७ किलोमिटरको दुरीमा रहेको यस योजना निर्माण सम्पन्न गर्न ५० करोड लागत लाग्ने अनुमान सहित ३ बर्षभित्र सक्ने लक्ष्य रहेको बताइएको छ ।
कार्यालयको सदरमुकाममा शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ्गले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, आयोजना प्रमुख शाह, पत्रकार महासंघका सचिव नरहरी सापकोटा लगायतले बालेका थिए ।




















