गोरखा समाचारदाता
शुक्रबार जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका १२ शिखरडाँडामा बसले ठक्कर दिदाँ एक बालकको ज्यान गएको थियो भने उत्तरी गोरखाको केरौजामा माटो ढिस्काले पुरिदा एक महिलाको मृत्यु भएका प्रहरीले जनाएको छ ।
पोखराबाट शैक्षिक भ्रमणका लागी गोरखा आएको बसले सेन्ट जोसेफ बिद्यालयबाट घर फर्केका विद्यार्थी प्रिन्स थापालाई ठक्कर दिदाँ उनको घटना स्थलमै मृत्यु भएको हो ।
विद्यालयको बसबाट ओर्लेर सडक पार गर्दैगर्दा शैक्षिक भ्रमणका लागि गोरखा आएर पोखरा फर्कदै गरेको ग १ ख ६३९५ नम्वरको बसले थापालाइ ठक्कर दिएको हो । ठक्कर दिने चालक र सवारी प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रमुख दयाराम पौडेलले जानकारी दिए ।
त्यस्तै शुक्रबार दिउँसो उत्तरी गोरखाको केरौंजा गाउँमा माटो खन्दै गरेकी २५ वर्षिय भिममायाँ गुरुङको ढिक्को पहिरिएर पुरिदा घटना स्थलमै मृत्यु भएको वडाअध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए । भर्खरै पुर्ननिर्माण भएको घर लिप्नका लागि माटो लिन गुरुङ स्थानीय माल्कीडाँडामा गएकी थिइन् ।
माटो लिन गएकी गुरुङ लामो समय सम्म नफर्ने पछि स्थानीयले खोजी गर्दा पुरिएको अबस्थामा फेला पारेका हुन् । घटना बारे ढिला मात्र जानकारी पाएको जिल्ला प्रहरीले कार्यालयले अनुसन्धानका लागि प्रहरी टोली घटना स्थल पठाएपनि अहिले सम्म थप जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झबिन्द्र भट्टराईले जानकारी दिए ।


