गोरखा समाचारदाता
नेपाली सम्बत ११३९ को अबसरमा जिल्लामा विशेष कार्यक्रम भएको छ । नयाँ वर्ष अर्थात न्हूदँया भिंतुनाको अबसरमा नेवार समुदायले विभिन्न कार्यक्रम गरेका हुन् । काठमाण्डौ देखि गोरखा–लम्जुङ हुँदै बन्दिपुर सम्मको मोटरसाईकल रयाली गरिएको छ ।
२०० जना सहभागी मोटरसाईकल ¥याली शुक्रबार गोरखाबजार आइपुगेको हो । सोही अबसरमा शनिवार बिहान नेवार जातीको पहिचान, सस्कृति र परम्परा झल्कने खालका सास्कृतिक कार्यक्रम गरिएको आयोजकले बताएको छ ।
नेवा देय दवु जिल्ला समिति गोरखाको अध्यक्ष देविप्रसाद श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष रामबाबु श्रेष्ठ, सल्लाहकार मोहनलाल श्रेष्ठ, काठमाण्डौबाट आएको टोलीको तर्फबाट निरन श्रेष्ठ, मनोज नेवा खड्गी, ओमकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सोही अबसरमा गोरखाको तर्फबाट ऐतिहासिक धिमेबाजा बाजा सहितका नेवारी नृत्यहरु प्रस्तुत भएको थियो ।
काठमाण्डौबाट आएको टोली सहित गोरखामा थप गरी बजार परिक्रमा गरिएको थियो । रानीपोखरीबाट बाट निस्केको मोटरसाईकल रयाली धारापानी नयाँ बसपार्क, नयाँबजार, शक्तिचोक, हरमटारी हुँदै छेवेटारमा पुगेको थियो । त्यहाँ स्वागत कार्यक्रम गरी ठाँटीपोखरीमा सुगन खुवाएर उक्त टोलीलाई गोरखाबाट बिदाई गरी लम्जुङ पठाइएको नेवा देय दवुका जिल्ला उपाध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिए ।


