गोरखा समाचारदाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो ।
यसैबिच गण्डकी प्रदेशमा समेत कमिटीका सदस्यहरुको टुंगो लागेको छ । इञ्चार्ज, सह इञ्चार्ज, अध्यक्ष र सचिवको नाम भने यसअघि नै टुंगो लगाएको गण्डकीले बिहिबार प्रदेश स्तरीय कमिटीका सदस्यहरुको नाम टुंग्याएको हो । प्रदेशको इञ्चार्जमा मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङ, सह इञ्चार्जमा खगराज अधिकारी, अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली चयन भैसकेका छन् ।
यसै बिच बिहिबार टुंगिएको प्रदेश कमिटीमा गोरखाका २१ जना परेका छन् । यस संगै अध्यक्ष पाण्डे सहित गोरखाबाट प्रदेश कमिटीमा २२ जना परेका छन् । जसमध्ये पूर्व नेकपा माओवादीबाट १४ जना र पूर्व एमालेबाट ८ जना परेका छन् । प्रदेश कमिटीमा पूर्व माओवादीबाट जगन्नाथ खनाल, खोप बहादुर कंडेल, लेख बहादुर थापा, लोक प्रसाद बन्जारा सदस्यमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा माओवादीकै कमला नहर्की, दिपक देवकोटा, बिष्णु भट्ट, भगवती तिवारी, दिपक तिमिल्सिना, छमबहादुर गुरुङ, दिलबहादुर सेन्चुरी, धना तमु, निमा लामा रहेका छन् ।
यसैगरी पूर्व एमालेबाट विकल श्रेष्ठ, जुद्धविलास भण्डारी, कृष्ण देवकोटा, प्रेम गुरुङ, बाबुराम थापा, सम्झना देवकोटा, सुरेन्द्र थापा, हरि प्रसाद काफ्ले प्रदेश कमिटीको सदस्यमा चयन भएका छन् ।


