नरेन्द्र ढकाल/गोरखा
मंसिर १३ गते । गोरखामा सम्बन्ध विच्छेदका घटना बढेका छन् । भदौ १ गते देखि कार्यान्वयनमा आएको मुलकी देवानी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेदका गर्न पाउने कानूनी व्यवस्था भएपछि यो संख्या बढेको जिल्ला अदालत गोरखाका स्रेस्तेदार बिनोद अधिकारीले जानकारी दिए । ‘भदौं यताको तथ्याङ्क हेर्दा सम्बन्ध विच्छेदमा मुद्दा बढेको देखिन्छ’ उनले भने ‘त्यसका सबै कारण त बुझ्न पाएको छैन, म नयाँ छु अहिलेको कानूनी प्रावधानले पनि केही मुद्दा थपिएका हुन सक्छन् ।’ भदौ देखि हाल सम्म ७६ मुद्दा सम्बन्ध विच्छेद शिर्षकमा अदालतमा दर्ता भएका छन् । जसमध्ये पुरुषको २७ र महिलाको ४९ उजुरी रहेको जिल्ला अदालत स्रोतको भनाई छ ।
त्यस अघि महिलाले मात्र सम्बन्ध विच्छेद गरी पाउँ भनि अदालतमा निवदेन दर्ता गर्ने कानूनी व्यवस्था थियो । सो क्रममा मासिक १५ देखि २० वटा निवेदन सम्बन्ध विच्छेद शिर्षकमा पर्ने गरेको अदालतको तथ्याङ्कले देखाउँछ । पुरुषले पनि अधिकार पाएपछि उक्त संख्या बढेको हो । अहिले महिला र पुरुषको तथ्याङ्क एकै ठाउँमा राख्दा मासिक झण्डै २० थान मुद्दा सम्बन्ध विच्छेद अन्र्तगत दर्ता भएको देखिन्छ । ‘नेपालको संबिधानले महिला र पुरुष दुबैलाई समान कानूनी अधिकार प्रत्यायोजन गरेको छ’ अधिवक्ता स्थानेश्वर दुवाडीले भने ‘अहिलेको व्यवस्था अनुसार महिला पुरुष दुबैले सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्नु हुन्छ ।’ नयाँ मुलुकी देवानी संहिता कार्यान्वयनमा आएपछि प्राप्त भएको उक्त संबैधानिक अधिकारको प्रयोग गरी पुरुषले पनि उल्लेख्य संख्यामा सम्बन्ध विच्छेदका लागि अदालतमा उजुरी दिएको उनको भनाई छ । जसका कारण साबिकको भन्दा अहिले मुद्दा पनि बढि हुन आएका हुन् ।
भदौ १ गते अघिको कानूनी व्यवस्था अनुसार महिलाले सम्बन्ध विच्छेद गर्न चाहेमा सिधै अदालतमा निवदेन गर्न पाउने व्यवस्था थियो । तर पुरुषको हकमा भने साबिकको गाउँबिकास समिति अथवा नगरपालिका मार्फत निवेदन दर्ता गर्नु पथ्र्यो । ‘वर्तमान व्यवस्थामा चाहे महिला वा पुरुष दुबैले सिधै अदालतमा निवेदन दर्ता सक्ने कानूनी व्यवस्था छ’ उनले भने ‘त्यसैले अहिले महिला जस्तै पुरुषले पनि सम्बन्ध विच्छेदको बाटो रोज्ने गरेको देखिन्छ ।’
नेपालमा बिकराल समस्याको रुपमा देखिएको सम्बन्ध विच्छेदका घटना बढ्नुको मुख्य कारण अशिक्षा, बेरोजगारी, देखासिखी गर्ने क्रम बढ्नु, सास्कृतिक विचलन, यौन मनोविज्ञान प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणहरु रहेको समाजशास्त्रीहरु बताउँछन् । ‘पहिले पुरुषलाई सिधै सम्बन्ध विच्छेदको बाटो रोज्न केही झन्झटिलो प्रावधान थियो’ अधिवक्ता दुवाडीले भने ‘अहिले त्यस्तो छैन, यसो हेर्दा पति र पत्नी सँगै बस्ने अवस्था नहुने बित्तिकै एक अर्को डिर्भोस मागेको देखिन्छ ।’ सोही अनुरुप हाल सम्म २ थान पुरुष र १७ थान महिलाका मुद्दा फैसाला भएका जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।
नेपालको संबिधानले सम्बन्ध विच्छेद गर्न पाउने कानूनी व्यवस्था गरेपनि त्यसका निश्चित आधारहरु तय गरेको छ । एउटाले अर्काको मन्जुरी बेगर लगातार तिन वर्ष वा त्यो भन्दा समय छोडेर अगल बसेमा, एउटाले अर्काको ज्यान जाने अङ्गभङ्ग अथवा शारिरीक कष्ट हुने किसिमको काम गरेमा, जाल प्रपञ्च गरेमा, परपुरुषसँग अथवा परमहिलासँग यौन सम्र्पक राखेको कुरा पुष्टि भएमा अथवा स्वीकार गरेमा, एउटा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको अवस्थामा महिलाले सम्बन्ध विच्छेद गर्न पाउने लगायतका कानूनी व्यवस्था छ ।


