गोरखा समाचारदाता
मंसिर ६ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ४ महिनामा २१ लाख भन्दा बढि राजस्व असुली गरेको छ । गत साउन देखि अहिलेसम्म ३ हजार ४५० सवारी साधन कारवाहीमा पर्दा हालसम्म २१ लाख ७४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको हो । प्रहरीले सञ्चालन गरेको चेक जाँच क्रममा कारवाहीमा परेका ट्रक/टिपर, बस/माइक्रो, कार/जिप, ट्रयाक्टर र मोटरसाइकल चालक मार्फत उक्त रकम संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयका दिपक सुनारले जानकारी दिए । जसअनुसार साउनमा ८५० सवारी साधन कारवाहीमा पर्दा ५ लाख २५ हजार राजस्व असुली भएको छ । यसैगरी भदौ महिनामा ९५० सवारी साधनलाई जरिवाना तिराउदा ५ लाख ६६ हजार रुपैयाँ जम्मा हुन आएका छ । भदौ महिनामा सबै भन्दा धेरै ९५० सवारी कारवाहीमा परेका छन् । त्यस्तै अशोजमा ८०० र कार्तिकमा ८५० सवारी साधनले ट्राफिक नियमको उल्लंघन गरी प्रहरीको फन्दामा परेका छन् । जसअनुरुप अशोजमा ५ लाख १२ हजार र कार्तिकमा ५ लाख ७१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी सुनारले जानकारी दिए ।
कारवाहीमा परेकाको तथ्याङ्क हेर्दा सबै भन्दा धेरै मालवाहक सवारी साधन बढि देखिन्छन् । जसअनुसार साउनमा २५५, भदौमा २६३, अशोजमा २२२ र कार्तिकमा २२६ ट्रक÷टिपर गरी ९६६ मालवाहक सवारी साधन प्रहरीको फन्दामा परेको देखिन्छ । उनीबाट ट्राफिकले साउनमा १ लाख ५७ हजार, भदौंमा १ लाख ५६ हजार, अशोजमा १ लाख ३४ हजार ५०० र कार्तिकमा १ लाख ४२ हजार गरी कुल ५ लाख ८९ हजार ५०० रुपैयाँ राजस्व उठाएको छ ।
बढि ट्राफिक उल्लघंन गर्नेमा कार/जिप पनि अघि देखिएका छन् । ४ महिनामा ७९३ कार/जिप कारवाही परेको यहाँ ५ लाख १० हजार ५०० राजस्व संकलन भएको छ । पछिल्लो समय निजि कार तथा ट्याक्सीको प्रयोग बढेसँगै ट्राफिक नियम उल्लघंन गर्ने पनि बढेका हुन् । कार/जिप पछि ट्क्याटर देखिएको छ । विगत ४ महिना यता ७३७ ट्याक्टरले कारवाही स्वरुप जरिवाना रकम बुझाएका छन् । साउन देखि कार्तिकसम्म कारवाहीमा परेका ट्याक्टरबाट ४ लाख ५८ हजार ५०० रुपैयाँ असुली भएको छ । यसैगरी मोटरसाइकल पनि उल्लेख्य मात्रामा कारवाहीमा परेको ट्राफिकको तथ्याङ्कले देखाउँछ ।
पहिलो चौमासिकमा ६२४ वटा मोटरसाइकलले ट्राफिक नियम मिच्दा उनीहरुबाट ४ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको हो । सबै भन्दा कम ट्राफिक नियम उल्लघंन गर्नेमा यात्रुवाहक सवारी साधन भेटिएका छन । साउन यता ३३० बस÷माइक्रोबसलाई कारवाही गरी ट्राफिकले १ लाख ९० हजार रुपैयाँ संकलन गरी राजस्वमा बुझाएको छ । ट्राफिकले मादक पदार्थ सेवन गरी सवारी चलाउने १९ र क्षमता भन्दा बढि यात्रु र भार बोक्ने ३३ सवारी साधनलाई पनि दण्ड जरिवाना गराएको छ । जसअनुसार मापासेबाट १९ हजार र ओभर लोड बोक्ने सवारी साधन मार्फत ३३ हजार जरिवाना तिराइएको ट्राफिक सुनारले जानकारी दिए ।
यसरी हेर्दा जिल्लामा सवारी नियम मिच्ने क्रम उच्च देखिएको छ । सवारी साधनको चाप बढ्नुका साथै ग्रामिण सडक बिस्तार भएसँगै नियम उल्लंघनका घटना पनि बढेका छन् । प्रहरीले सदरमुकाम आसपास, केही शहरी इलाका र राजमार्गमा कारवाही अभियान चलाएपनि ग्रामिण क्षेत्रका कच्ची सडकमा केही गर्न सकेको छैन् । जसले गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै सरकारी आम्दानीको मुख्य स्रोत राजस्व समेत गुमिरहेको छ ।


