नरेन्द्र ढकाल/गोरखा
मंसिर ३ गते । गोरखा दरबार पुर्ननिर्माणको काममा चरम लापरवाही देखिएको छ । नेपालकै उद्गम स्थल गोरखामा अबस्थित ऐतिहासिक गोरखा दरबार पुर्ननिर्माणका लागि भत्काइएको लामो समय भइसक्दा पनि यसले गति लिन नसकेको प्रति स्थानीय चिन्तित भएका छन् । ‘यही दरबार हेर्न भन्दै दिनहुँ सयौं मानिस आउँछन्, दरबारको अबस्था यस्तो छ’ दरबार परिसरमा भेटिएका एक स्थानीयले भने ‘नबनाउने हो भने किन भत्काएको ?’ पुर्ननिर्माणको काममा आलटार हुँदा सर्वत्र चिन्ता व्यक्त भइरहेको छ । उता पुरातत्व विभागले भने चाडपर्व परेका कारण काम रोखिएको भन्दै केही दिनमा सुरु हुने दाबी गरेको छ । ‘काम ढिला भएको अबस्य हो नै’ पुरातत्व अधिकृत मञ्जु सिं भण्डारीले भनिन् ‘ठेकेदारबाट काममा ढिलाई हुँदा यो सब भएको हो ।’ दरबार भत्काएर ठुलो खाल्डो पारिएको छ । जग मुनिको भाग कमजोर भएका कारण माइक्रोपाइलिङ (विशेष प्रविधिबाट जमिन मुनिको भाग बलियो बनाउने बिधि) गर्न खाल्डो खनिएको थियो ।
उक्त स्थानमा केही काम भएपनि अहिलेसम्म सर्वसाधरणले देख्ने गरी पुर्ननिर्माणको काम हुन सकेको छैन । ‘कामै नभएको भन्ने होइन त्यहाँ थुप्रै काम भइसकेको छ, फाउण्डेसनको अधिकाश काम सकिसकेको छ’ उनले भनिन ‘तर जनताले देख्ने गरी काम हुन केही समय लाग्छ ।’ उक्त खाल्डोलाई खट बनाएर छोपिएको छ । वर्खाको पानी नपसोस्, गहिरो खाल्डोमा हुन सक्ने सम्भावित दुरघटनालाई मध्ये नजर गरी बार समेत लगाइएको छ ।
दशै, तिहार, छठ जस्ता चाडपर्व मनाउन कामदारहरु गएको कारण रोकिएको काम केही दिन भित्र सुरु हुने उनको भनाई छ । ठेकेदारसँग निरन्तर सम्र्पक समेत रहेको उनले बताईन् । ‘म क्नट्याक्टरसँग निरन्तर सम्पर्कमा छु’ उनले भनिन् ‘चाडपर्व मान्न गएका कामदारहरु फर्किएपछि काम सुरु हुन्छ भनेका छन्, सायद फर्किपनि सके होला अब काम अघि बढ्छ ।’
तर ठेकेदारका प्रतिनिधिसँग सम्र्पक गर्न खोज्दा उनको फोन लागेन । दुई वर्ष भित्र सक्ने लक्ष्यका साथ भत्काइएको दरबार पुर्ननिमाणमा आलटाल हुँदा धेरैले तोकिएको समय भित्र काम सक्नेमा आशंका गरेका छन् । ‘यो नेपालकै उद्गम् स्थलको उद्गम दरबार हो, यो दरबार समयमै बनाउनु पर्छ भनेर हामी सधै सचेत र चिन्तित छौ’ पुरातत्व अधिकृत भण्डारीले भनिन् ‘अहिले सम्मको लक्ष्य तोकिएकै समयमा काम सक्ने छ ।’ अहिले सम्म भएको ढिलाईका कारण तोकिएको समयमा काम सक्न केही जटिलता भने हुने उनको आशंका छ । त्यसलाई हल गर्न निर्माण व्यवसायीसँग छलफल गर्नेे पुरातत्वको योजना छ । गोरखा दरबार पुर्ननिर्माणको काममा आलटाल हुँदा जिल्लाका सरोकारवालाहरुले चासो नदेखाएको स्थानीयको आरोप छ ।
शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ । दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् ।नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि भत्काएर जगैबाट पुनर्निमाण सुरु गरिएको हो ।



