नरेन्द्र ढकाल/गोरखा
मंसिर २ गते । प्रभातकिरण मावि लापुको कक्षा ७ मा पढ्ने सोनिका गुरुङ भर्खर १५ वर्ष लागिन् । उनले विवाह गरेको ६ महिना भयो । ‘यहाँ त सबैले सानैमा बिहे गर्छन्’ सोनिकाले भनिन् ‘त्यसैले मैले पनि विवाह गरेको हो ।’ धार्चे गाउँपालिका ७ लापुकी सोनिकाले गत जेठमा विवाह गरेपनि विद्यालय आउन भने छोडेकी छैनन् । श्रीमान् र घरपरिवारले कुनै अबरोध सिर्जना नगरेकाले उनले पढाईलाई निरन्त्रता दिइरहेकी हुन् । ‘सकेसम्म त पढ्ने हो, सबैले पढ् भन्नु भएका छ’ उनले भनि ‘आमाले पढ्ने खर्च दिनुहुन्छ, काकाले मात्र हो नपढ भनेको ।’
सोही विद्यालयको कक्षा १० मा पढ्ने चसुरा गुरुङ पनि गत असारमा बैवाहिक बन्धनमा बाँधिएकी छिन् । एसइई परिक्षाको तयारीमा रहेकी चसुरालाई प्रेम सम्बन्धले विवाह गर्न बाध्य बनायो । भिरकुनाका एक युवकसँग प्रेम विवाह गरेकी उनले पनि पढाई भने छोडेकी छैनन् । ‘मन प¥यो अनि बिहे गरेँ, एक दिन गर्ने पर्छ क्यारे’ चसुराले भनिन् ‘बिहे गरे पनि पढ्न भने छोड्दिन ।’
सोनिया र चसुरा दुबैले आफ्नो श्रीमान् र घरपरिवारका बारेमा खुलाउन चाएनन् । उक्त विद्यालयमा पढ्ने छात्रा मात्र होइन छात्रहरु पनि सानैमा विवाह गर्छन । ‘सँगै हिडेको बोलेको देखेर सबैले नराम्रो रुपमा हेर्न थाले, उसलाई घरपरिवारले अनेक टेन्सन दिएछ’ कक्षा १० मा पढ्ने सरोज गुरुङले भने ‘अनि हामीले बिवाह गरेयौं ।’
बालबिबाहको उच्च समस्या रहेको त्यहाँ अधिकाशंले आफूखुसी प्रेम विवाह नै गर्ने गरेको पाइन्छ । धेरैले आफ्नै विद्यालयमा पढ्नेहरुसँग विवाह गरेका छन् । अझ रोचक कुरा के छ भने उपल्लो कक्षामा पढ्ने छात्राहरुले आफू भन्दा सानो उमेरको तल्लो कक्षामा पढ्नेहरुसँग पनि विवाह गर्छन् ।
बालबिबाहका कारण विद्यालयहरुमा विद्यार्थी संख्या पनि न्यून छ । तल्ला कक्षाहरुमा राम्रो संख्यामा विद्यार्थी भएपनि माथिल्ला कक्षामा पुगेपछि एकएका यो संख्या घटेर जाने गरेको विद्यालय स्रोतको भनाई छ । ‘यहाँको सस्कार नै सानोमा विवाह गर्नुपर्छ भन्ने खालको छ’ प्रभातकिरण माविकी सहायक प्रधानाध्यक सन्सरी गुरुङले भनिन् ‘किशोरावस्थामा हुने प्रेम सम्बन्ध अर्को कारण हो ।’ फेसनको रुपमा रहेको बालबिबाहलाई देखासिखीको गर्ने क्रम बढेकाले पनि यो समस्या भएको उनले बताईन । उक्त विद्यालयमा मात्र वर्षेनी एक दर्जन भन्दा बढि बालबालिकाहरुले बिबाह गर्ने गरेका छन् । १६० विद्यार्थी रहेको त्यहाँ बालविवाहका कारण विद्यालय छोड्ने क्रम उच्च रहेको विद्यालय प्रशासनको भनाई छ । ‘बिचैमा पढाई छोड्ने समस्या यहाँ उच्च छ’ विद्यालयका प्रधानाध्यापक जितबहादुर गुरुङले भने ‘त्यसको मुख्य कारण बालबिवाह हो ।’
विद्यार्थीहरुले धमाधम विवाह गर्न थालेपछि विद्यालयले थुपै्र सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरेको तर सफलता मिल्न नसकेको प्रधानाध्याक गुरुङ बताउँछन । ‘घरदैलो, अभिभावकका लागि अभिमुखिकरण जस्ता विभिन्न कार्यक्रम गरेयौं’ उनले भने ‘जे गर्दा पनि बालबिबाह रोक्न सकिएन ।’ बिबाह गरेका अधिकाशं विद्यार्थीहरु २/४ महिना पढ्न आउने र विचैमा पढाई छोड्ने गरेको विद्यालय प्रशासनको भनाई छ । मनास्लु पदमार्गको छेवैमा पर्ने उक्त विद्यालयका कतिपय विद्यार्थीहरु पढाई छोडेर पर्यटकको भारी बोक्ने, खच्चड गोठालो बन्ने, होटलमा काम गर्न, सवारी साधनको सहचालक बन्ने गरेको प्रधानाध्यक गुरुङको भनाई छ । ‘छोरा छोरीलाई पढाउनु पर्छ भन्ने चेतना अभिभावकमा छैन’ उनले भने ‘विद्यालयको प्रयासले मात्र विद्यार्थी रोक्न सकिदो रहेनछ ।’
भौगोलिक रुपमा विकट, थोरै जनसंख्या रहेको उत्तरी गोरखाका विद्यालयहरुमा अन्य ठाउँको तुलनामा थोरै सख्यामा विद्यार्थीहरु छन् । त्यसमा पनि बालविवाह, रोजगार अन्य विविद्य कारणले विचमा पढाई छोड्नेहरु क्रम दिन प्रतिदिन बढ्दो छ ।
नेपालको कानूनले १८ वर्ष मुनिको बिबाहलाई गैरकानूनी मानेको छ । लापु लगायत उत्तरी गोरखामा बालबिबाहले कानूनी उपचार पाउन सकेको देखिदैन ।


