मोहसिन अलि मियाँ/गोरखा
मंसिर २ गते । फेसबुक अभियान संचालन गरेर गोरखामा एक अपाङ्ग बालिकाको उपचार खर्च जुटेको छ । जन्मजात अपाङ्ग रहेकी पालुङ्गटार नगरपालिका २ की अस्मिता नेपालीको उपचारका लागि अभियानबाट १ लाख ५० हजार रकम जुटेको अभियान्ता बर्षा ढकालले बताइन् । १२ बर्षदेखि ओछ्यान मै रहेकी अस्मितालाई उपचार गर्न ढकाल, अस्मिताका दाई पर्ने दिनेश नेपाली लगायत केहि युवाहरुले २ महिना अघिदेखि सामाजिक सञ्जालमा रकम संकलनको अभियान चलाएका थिए ।
उनको उपचारका लागि जुटेको डेढ लाख रकम शुक्रबार सदरमुकाममा एक कार्यक्रमका बिच अस्मिताका बुवा सुरजी नेपालीलाई हस्तान्तरण गरिएको ढकालले बताएकी छिन् । ‘हामीले उनको अवस्था देखेपछि केहि सहयोग जुटाउनुपर्छ भनेर फेसबुकमा सबैलाई आह्वान ग¥यौ’ अभियान्ता ढकालले भनिन् ‘दुई महिनामा डेढ लाख जुट्यो उनका बुवालाई चेक हस्तान्तरण गरेका छौ ।’
एक बहिनी र दुई भाइकी जेठी दिदी अस्मिता दिशा पिसाव गर्न जान समेत नसक्ने छिन् । आर्थिक अवस्था अत्यन्त नाजुक रहेको उनको परिवारले यसअघि उपचार गर्ने प्रयत्न पनि नगरेको होइन तर आर्थिक समस्याकै कारण उनको उपचार सम्भव नरहेको भन्दै पटक पटक अस्पतालले फिर्ता पठाइदिने गरेको उनका बुवाको भनाई छ । दिनभरी अरुका खेत र बारीमा निवेक गरेर दुई छाक टार्नुपर्ने उनको परिवारमा बाध्यता छ । ‘जन्मदै यस्तो अपाङ्ग जन्मिइ, उपचार गर्न धेरै अस्पताल लगे, तर के गर्नु यो रोगको उपचार हुदैन भन्दै सबै अस्पालले घर पठाइदियो’ उनका बाबु सुरजीले भने ‘आफुसंग धेरै पैसा नहुने, अलि अलि निवेक गरेर जुटाएको पैसा कति नै हुन्थ्यो र ।’
फेसबुक मार्फत उनको अवस्थाका बारेमा सार्वजानिक भएपछि देश बिदेशमा रहेका धेरैले सहयोग गरेको ढकालको भनाई छ । उनिहरुले दशैमा समेत अस्मिताको परिवारमा खाद्धान्न र अन्य सामाग्री सहयोग गरेका थिए । अस्मिताकी आमा मधेशी मुलकी हुन् । घरमा अस्मिता मात्रै होइन उनका एक भाई पनि कान नसुन्ने र नबोल्ने छन् । अस्मिताको उपचारका लागि संकलन भएको रकमले सम्भव भए उपचार गराउने र नभए उनिहरुको पालनपोषणमा खर्च गर्ने उनको बाबु सुरजीले बताए ।


