मोहसिन अलि मियाँ/गोरखा
कार्तिक ३० गते । अवैधानिक रुपमा भाडाका यात्रु बोक्ने निजी कारलाई कारबाही सुरु गरिएको छ । केहि समयअघि देखि गोरखा सदरमुकाम र आसपासका क्षेत्रमा खुलेआम रुपमा यात्रु बोक्दै आएका ८ वटा निजी कारलाई जिल्ला ट्राफिक कार्यालय गोरखाले नियन्त्रणमा लिई कारबाहीको प्रकृया अघि बढाएको ट्राफिक प्रमुख दयाराम पौडेलले बताएका छन् । ‘रातो प्लेटले यात्रु बोक्यो भनेर केहि समयअघि देखि नै गुनासो आएका थियो’ उनले भने ‘हामीले पनि धेरै ठाउँमा भेटेका हौ, चाडवाड भएकाले खासै कडाई गर्न सकेका थिएनौ । अब त्यसरी यात्रु बोक्न दिदैनौ ।’
ट्राफिक कार्यालयले बुधबारदेखि यात्रु बोक्ने निजी कार संचालनमा कडाई गर्न अभियान नै चलाएको बताएको छ । यस अघि पनि ट्राफिकले केहि निजी कारलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो तर पुनः अटेरी गरेपछि कडाई गर्न बाध्य भएको प्रमुख पौडेलको भनाई छ । ‘हामीले दशै अघि नै केहि कारहरुलाई समातेर जरिवाना लिई अब नचलाउने भनेर कागज गरेर छोडेका थियौ’ उनले भने ‘तर उहाँहरुले अटेरी गर्नुभयो, फेरी यात्रु बोक्न थाल्नु भयो, अब छोड्दैनौ ।’
जिल्लामा झण्डै २५ वटा निजी कारले भाडाका यात्रु बोक्ने गरेको जिल्ला ट्राफिक कार्यालयको तथ्यांकमा छ । बुधबार बिभिन्न स्थानबाट ट्राफिकले यात्रु बोकेको भन्दै ८ वटा निजी कार र ट्याक्सीलाई नियन्त्रणमा लिएको जनाएको छ । ‘पहिलो दिनमै हामीले ८ वटा समातेका छौ, अरुलाई निगरानी गरिरहेका छौ’ ट्राफिक प्रमुख पौडेलले भने ‘नियन्त्रणमा लिएकालाई कारबाहीका लागि यातायात ब्यवस्था कार्यालय गण्डकी प्रदेशमा पठाउने तयारीमा छौ ।’
ट्याक्सी संचालनको अनुमती पाएको मनकामना र मनासलु यातायात प्रालीमा दर्ता नभई अवैद्य रुपमा संचालन भएकाले कारबाही गर्नु परेको कार्यालयले जनाएको छ । पछिल्लो समय यस्ता निजी कारलाई ट्राफिकले सिसी क्यामेराबाट समेत निगरानी थालेको बताउछ । ‘हामीले हचुवामा समातेका छैनौ, धेरै दिनबाट फिल्ड बाटै निगरानी गरेर यात्रु बोक्नेलाई मात्रै समातेका हौ’ प्रमुख पौडेल भन्छन् ‘अहिले हामी कार्यालयमै बसेर पनि सिसि क्यामेराबाट निगरानी गरिरहेका हुन्छौ ।’ जिल्लामा दुई प्रालीले झण्डै ५० भन्दा बढि ट्याक्सी संचालन गर्दै आएको छ । तर नियन्त्रणमा परेका केहि निजी कार र ट्याक्सी चालक भने आफुहरुले बाध्य भएर चलाउनु परेको बताउछन् । ‘हामीले पनि रहरले चलाएका होइनौ, प्रालीमै दर्ता गर्ने भनेर गाडी ल्यायौ’ निजी कार चालक नवराज मजकोटीले भने ‘दर्ता गर्न प्रकृयामा छौ, तर अहिले दर्ता रोकेको रहेछ, खुल्ने बित्तिकै हुन्छ भनेका छन्, के गर्ने त्यसै गाडी थन्काएर किस्ता कहाँबाट तिर्ने ?’
यता केहि चालक भने आफुहरुलाई ट्राफिकले दुख दिन मात्रै खोजेको आरोप लागाउछन् । ‘हामीले यात्रु बोकेकै छैनौ, आफ्नो साथीभाई, आफन्त पनि बोक्न नपाउने ?’ प्रतिप्रश्न गर्दै एक चालकले भने ‘केहि गाडीले बोके होलान तर सबैले बोकेका छैनन्, यो सब बेकारको दुख दिने काम मात्रै हो ।’
जिल्लाको सदरमुकाम, बुंकोट, ताप्ले, फिनाम, नारेश्वर, बाह्र किलो, छेपेटार लगायतका स्थानबाट केहि समयअघि देखि रातो नम्बर प्लेटधारी कार र ट्याक्सीले यात्रु बोकेको र मनोमानी भाडा असुलेको भन्दै जनगुनासो आउने गरेको थियो ।
भाडाका यात्रु बोक्ने निजी कारलाई कारबाही
भाडाका यात्रु बोक्ने निजी कारलाई कारबाही
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


