कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २८ गते । गोरखा सदरमुकामा देउसी खेल्ने क्रममा मंगलबार राती लडेका एक जनाको मृत्यु भएको छ ।
गोरखा नगरपालिका १० छेवेटार निवासी मोहन बहादुर बस्नेतको देउसी भैली खेल्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
छेवेटार निवासी बस्नेत सहितको टोली मंगलबार राती सदरमुकामको नयाँ बजारमा देउसी खेल्ने क्रममा एक्कासी लडेका थिए । खेल्दा खेल्दै लडेको बस्नेतलाई उपचारको लागि गोरखा अस्पताल लगिएकोमा अस्पतालले मृत्त घोषित गरेको थियो ।
बस्नेतको राती ७:४५ बजे मृत्यु भएको थियो । बस्नेत गोरखा नगरपालिका १० नम्बर वडाका वडाध्यक्ष देवी बहादुर बस्नेतका सहोदर भाई हुन ।


