मोहसिन अलि मियाँ/गोरखा
कार्तिक १८ गते । नेपाली काँग्रेस गोरखाले लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहि सेवा गर्ने जिल्लाका ३० जना शिक्षकलाई अभिनन्दन गरेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल शिक्षक संघमा रहेर लामो समय राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा वकालत गर्दै आएकोले बिभिन्न विद्यालयका शिक्षक÷शिक्षिकालाई दिर्घ सेवा पदकबाट सम्मानित गर्दै अभिनन्दन गरिएको हो ।
नेपाली काँग्रेस गोरखाको शिक्षा शाखाद्धारा आयोजित बर्तमान राष्ट्रिय परिवेशमा माध्यामिक शिक्षा प्रणाली बिषयक अन्तरकृया एवम दिर्घसेवी शिक्षक अभिनन्दन कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको हो । पार्टी कार्यालय तिनधारेमा भएको कार्यक्रममा सम्मानित हुनेहरुमा प्राथामिक विद्यालयबाट ११ जना, निम्न माध्यामिकबाट ५ जना र माध्यामिकबाट १४ जना गरी ३० जनालाई पदक सहित सम्मान गरिएको काँग्रेस गोरखाका उपसभापति एवम शिक्षा शाखा प्रमुख सुकदेव दवाडीले बताएका छन् । प्राविमा २०४५ सालअघि स्थायी भएका, निमावी तर्फ २०५० सालअघि स्थायी भएका र मावीमा २०६० साल अघि स्थायी भई हालसम्म निरन्तर रुपमा सेवामै रहेका शिक्षकलाई सम्मान गरिएको संयोजक दवाडीको भनाई छ ।
शिक्षा शाखा प्रमुख दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य कमला पन्तको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संस्कृत विश्व विद्यालयका उपकुलपति कुल बहादुर कोइराला र आर आर क्याम्पसका सह प्राध्यापक उद्धव सिग्देल प्रमुख वक्ताका रुपमा सहभागी भएका थिए । त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशका साँसद मनकुमारी गुरुङ्ग, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, उपप्रमुख विनाकुमारी श्रेष्ठ, नेपाल ट्रेड युनियनका केन्द्रिय उपमहासचिव इश्वर परियार, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछाने, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष रुपबहादुर गुरुङ्ग, शिक्षकहरु रमेश पराजुली, विश्वनाथ वाग्ले, कृष्ण पोखरेल लगायतले मन्तब्य राखेको शिक्षा शाखा सदस्य खुन प्रसाद रेग्मीले जानकारी दिए ।


