मोहसिन अलि मियाँ/गोरखा
कात्र्तिक १६ गते । जिल्लाका ११ वटै स्थानीय तहमा भिटामिन ए र जुगाको औषधी खुवाइएको छ । जिल्लाभर रहेका ६ महिनादेखि ५ बर्षमुनिका २२ हजार ५ सय ७३ बालबालिकालाई भिटामिन ए र १ बर्षदेखि ५ बर्षमुनिका १९ हजार ७ सय ४ लाई जुगाको औषधी खुवाउने लक्ष्य अनुसार नै कार्यक्रम संचालन गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ‘सरकारले तोकेकै दिन जिल्लाका सबै स्थानीय तहमा भिटामिन र जुगाको औषधी खुवाइएको छ, एक्ज्याक्ट तथ्यांक आइसकेको छैन तर जिल्लामा २२ हजार ५ सय ७३ बालबालिकालाई खुवाउनुपर्ने हाम्रो तथ्यांकमा छ’ कार्यालयका सचना अधिकारी नवराज खड्काले भने ‘अब केहि दिनमै सबै स्थानीय तहबाट तथ्यांक आउछ ।’
जिल्लामा ६ सय २१ केन्द्रबाट भिटामिन ए वितरण गरिएको कार्यालयले जनाएको छ । यस बर्ष भिटामिन ए र जुगाको औषधी संगै शुष्म पोषक तत्व (बालभिटा) समेत निशुल्क वितरण गरिएको खड्काको भनाई छ । त्यस्तै बालबालिकाको पोषण अवस्थको पहिचानका लागि पाखुराको समेत नाप गरिएको उनले बताएका छन् । यस अघिसम्म जिल्ला जनस्वास्थ्य कार्यालय अन्तरगत संचालन भएको यो कार्यक्रम यस पटकदेखि भने स्थानीय तहकै जिम्मामा गएको छ । ‘अघिल्लो पटकसम्म हाम्रै अधिकारभित्र पर्थो, तर यो पटकदेखि स्थानीय तहले नै यो कार्यक्रम चलाउने जिम्मा पाएका छन्’ कार्यालयका सुचना अधिकारी खड्काले भने ‘हामीले त समन्वय मात्रै गरिदिने हो ।’
जिल्लाभर रहेका स्वास्थ्य केन्द्रहरु सम्बन्धित स्थानीय तहलाई नै हस्तान्तरण भइसकेका छन् । यता जिल्लामा रहेको जनस्वास्थ्य कार्यालयलाई भंग गरि केहि समयअघि प्रदेश सरकारले स्वास्थ्य कार्यालयका रुपमा गोरखा र नवलपुर हेर्ने गरी गोरखामा कार्यालय स्थापना गरेको थियो ।
जिल्लामा बुधबार ६ सय २१ केन्द्रबाट भिटामिन ए र जुगाको औषधी वितरण भएपनि छुटेका बालबालिकालाई बिहिबार महिला स्वास्थ्य स्वयम सेविकाले घरघरमा गई वितरण गरेको कार्यालयले जनाएको छ । तर दुई दिनमा पनि छुटेका बालबालिकाले आजदेखि नजिकको स्वास्थ्य केन्द्र वा स्वयम सेविकालाई सम्पर्क गरी खुवाउन सकिने कार्यालयले जनाएको छ । जिल्लाभर ६ सय २४ महिला स्वास्थ्य स्वयम सेविका कार्यरत छन् ।
११ स्थानीय तह रहेको गोरखामा सबैभन्दा बढि गोरखा नगरपालिकामा ४ हजार ३५ जना ५ बर्षमुनीका बालबालिका छन् भने सबैभन्दा कम चुमनुब्री गाउँपालिकामा ८ सय ४५ छन् । त्यस्तै अजिरकोटमा १३४८, वारपाक सुलिकोटमा २३३१, धार्चेमा १५१०, आरुघाटमा २३६९, भिमसेन थापामा १६१८ बालबालिका छन् । यसैगरी सिरानचोकमा १७८०, पालुंटारमा ३१३८, शहिदलखनमा २१०५ र गण्डकीमा १७४५ बालबालिका ५ बर्षमुनीका रहेको तथ्यांक स्वास्थ्य कार्यालयमा छ ।




















