- दशैमा सर्वसाधारणको सकसपूर्ण यात्रा
मोहसिन अलिमियाँ/गोरखा
कात्र्तिक ९ गते । यस वर्षको दशै बिधिवत रुपमा सकिएको छ । विगतका वर्षमा जस्तै सर्वसाधारणले सकसपुर्ण यात्रा गरी दशै मनाएको गुनासो गरेका छन् । ‘सदरमुकाम आउन बिहान ७ बजेदेखि सडकमा बसेको, १० बजेसम्म ५ वटा बस आयो तर एउटाले पनि रोकेन, पछि ट्रकमा आए’ घ्याम्पेशालका अर्जुन अधिकारीले भने ‘ट्रकमा पनि बसमा भन्दा बढि मान्छे, बल्ल तल्ल बजार आइपुगियो ।’
अहिले जिल्लाका अधिकांश सडकमा चल्ने यातायातका साधानमा दशैं मनाएर फर्किनेको भिडभाड देख्न सकिन्छ । गोरखा घर भई बिभिन्न जिल्लामा बसोबास गर्दै आएका सर्वसाधारणले दशैं सकिएसंगै आ–आफ्नो गन्तब्यको यात्रा तय गरेपछि जिल्लाका अधिकांश छोटो तथा लामो दुरीको यातायातका साधन खचाखच यात्रुले भरिएका छन् । यात्रु बोक्न पाउने बस मात्रै होइन अहिले जिल्लाका अधिकांश ग्रामिण सडकमा ट्रक, टिप्पर, ट्याक्टर र जिपहरुमा समेत सर्वसाधारण सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।
ग्रामिण सडकमा सिमित बस गुड्ने भएकाले यात्रुहरुले निक्कै सास्तीपूर्ण यात्रा गर्नुपरेको गुनासो गरेका छन् । यात्रुहरु बसको प्रतिक्षामा घण्टौ बाटोमै अलपत्र पर्ने गरेका छन् । ‘बल्ल तल्ल बस पाइयो, तर के गर्नु ढोकाबाटै भित्र छिर्न नसकिने, जसो तसो ढोकामा झुण्डिएर आए’ बुंकोटकी उमा बिकले भनिन् ‘बजार त आइयो अब काठमाण्डौ कसरी जाने, काउण्टरमा टिकट पनि छैन रे ।’
सकसपूर्ण यात्रासंगै जोखिम पनि उत्तिकै छ । ट्याक्टर, ट्रक र बसका छत अनि ढोकामा झुण्डिएर यात्रा गर्नुपर्दा गन्तब्यसम्म पनि नपुगिने होकी भन्ने त्रास उनिहरुमा छ । ‘३०÷३५ जना बोक्ने बसले भित्रै ५० जनाभन्दा बढि मान्छे हालेको छ, कच्चि बाटो त्यै माथी अवस्था यस्तो छ’ ताकुकोटबाट आएका राजन श्रेष्ठले भने ‘गाडी चढेदेखि नझरुञ्जेल साह्रै तनाव हुने, चढे पनि नहुने, नचढी पनि नहुने ।’
गाडी नपाइने समस्या ग्रामिण सडकमा मात्रै होइन । काठमाण्डौ, नारायणगढ, पोखरा लगायतका स्थानमा जाने लामो दुरीका यातायातका साधनमा पनि उत्तिकै छ । दशैं सकिएसंगै बिभिन्न पेशामा आवद्ध भई जिल्ला बाहिर बस्ने जिल्लाका सर्वसाधारण सदरमुकाम, बाह्र किलो, आरुघाट, बेनिघाट लगायतका नाकामा घण्टौसम्म बसको प्रतिक्षामा बस्ने गरेका छन् । काठमाण्डौ लगायतका स्थानमा जान घरबाट हिडेका कतिपय त बस, माइक्रो नपाउदा सदरमुकाममा बास बस्न समेत बाध्य छन् ।
मनोमानी भाडादर
दशैंको मौका छोपेर जिल्लामा संचालनमा रहेका यातायातका साधनले यात्रुहरुसंग मनोमानी भाडा लिने गरेको पाइएको छ । टिकट काउण्टरबाट टिकट नदिने र बस, माइक्रोले रिजर्भ भन्दै साबिकको भन्दा तेब्बरसम्म भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । ‘काउण्टरमा टिकट सबै बुक भइसक्यो भन्छन्, बसमा गए रिजर्भ हो जहाँ ओर्लिएपनि ५ सय लाग्छ भन्छन्’ आरुघाटबाट सदरमुकाम आएका सन्तोष लामिछानेले भने ‘२ सयको ठाउँमा ५ सय, त्यैपनि सिटमा बस्न पाइने होइन, खुट्टा मात्रै टेक्ने ठाउँ ।’ त्यसो बसले मात्रै होइन ट्रक, ट्याक्टर, जिप र ट्याक्सीले समेत मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ ।
यता सदरमुकामबाट जिल्ला बाहिर जाने सवारी साधनले पनि आफुखुसी भाडा लिने गरेको पाइएको छ । काउण्टरबाट आफ्ना चिनेजाने र आसेपासेलाई समेत टिकट दिने गरेको र अन्यलाई भने टिकट बुक भइसक्यो भन्दै फर्काउने गरेको यात्रुहरुको दुखेसो छ । यता यातायात ब्यवसायी समिती गोरखा भने आफु मातहातका साधनले त्यसो नगरेको दावी गर्छ । ‘बढि भाडा लियो भन्नु आरोप मात्रै हो, हाम्रा गाडीले त्यसो गरेका छैनन्, हामीले स्पष्ट निर्देशन दिएका छौ’ समितीका महासचिव अन्जनबाबु खत्रीले भने ‘चाडवाड हो कोही कसैले आफुखुसी रिजर्भ गरेर चलाए होलान, त्यसमा हामी जिम्मा लिन सक्दैनौ तर क्यूको गाडीमा टिकट पनि दिएका छौ, बढि भाडा पनि लिएका छैनौ ।’ जिल्लामा पछिल्लो समय प्रा.लिका नाममा चलेका अन्य सवारी साधनले यात्रु ठगिरहेको महासचिव खत्रीको आरोप छ ।
यसरी चाडवाडका नाममा यात्रु ठग्ने सवारी साधनलाई कारबाही सुरु गरेको जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले बताएका छन् । ‘यात्रु ठगिए भनेर गुनासो हामीकहाँ पनि आएको छ, हामीले जिल्लाका अधिकांश नाकाहरुमा चेकजाँज सुरु गरेका छौ’ उनले भने ‘बुधबार मात्रै काठमाण्डौ जान हिडेका २ बस र २ माइक्रोलाई हामीले कारबाही गरेका छौ, उनिहरुले यात्रुहरुसंग बढि भाडा लिने उदेश्य राखेका रहेछन् ।’ सो सवारी साधनका चालकलाई ३ घण्टा हिरासतमा राखी २÷२ हजारका दरले जरिवाना काटेर छोेडेको ट्राफिक प्रमुख पौडेलको भनाई छ ।




















