नरेन्द्र ढकाल/गोरखा
कात्र्तिक ९ गते । निजि आवास पुर्ननिर्माणको काम प्रभावकारी नभएको गुनासो बढिरहेका बेला प्राधिकरणले समयसिमा भित्र घर बनाउन आग्रह गरेको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार गोरखाले सुचना जारी गर्दै लाभग्राहीको सूचिमा नाम भएकाहरुलाई छिटो घर बनाउन अनुरोध गरेको हो । ‘घर निर्माणका लागि ताकेता गर्दै प्राधिकरणले पटक÷पटक समय सिमा तोक्ने गरेको छ’ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार गोरखाका प्रमुख रामकुमार श्रेष्ठले भने ‘यसैगरी अब म्याद थपिदैन त्यसैले यहि समयसिमा भित्र घर बनाउन सबैलाई अनुरोध गरेका हौ ।’
उक्त सुचनामा २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले २०७५ पुस मसान्तसम्म दोश्रोे किस्ता लिइसक्नु पर्ने उल्लेख गरिएको छ । उक्त लाभग्राहीले २०७६ बैसाख मसान्तसम्म घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता लिइसक्न पनि प्राधिकरणले ताकेता गरेको छ । ‘प्राधिकरणले स्पष्ट भनेको छ, सोका आधारमा घर बनाउन र किस्ता लिन हामी लाभग्राहीहरुलाई आग्रह गर्छौं’ उनले भने ‘भूकम्प गएको लामो समय भयो अब घर बनाउन ढिला गर्नुहुन्न ।’
यसैगरी पहिचान भएका सबै लाभग्राहीले यहि कार्तिक मसान्त भित्र अनुदान सम्झौता गर्नुपर्नेछ । २०७५ कार्तिक मसान्तसम्म पहिलो किस्ता प्राप्त गर्नेले माघ मसान्तसम्म दोश्रो र २०७६ जेठ मसान्तसम्म तेश्रो किस्ता लिईसक्नु पर्ने प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । पटक÷पटक समय सिमा निर्धारण गर्ने तर प्राधिकरण आफैले पालना नगर्ने गरेको कतिपयको आरोप छ । ‘यस अघि हामी सबैले समयसिमा पालना गरेनौं’ उनले भने ‘अब सधै त्यस्तो हुँदैन र यो नै अन्तिम समयसिमा हुनुपर्छ ।’ पुर्ननिर्माणको जिम्मेवारी स्थानीय तहलाई समेत गएकाले सबैले ताकेता गरी तोकिएको समय भित्र घर बनाउनु पर्ने सरोकारवालाको जोड छ ।
भूकम्प गएको ४२ महिना भईसक्दा समेत नीजि आवास अनुदानको कामले पूर्णता पाउन सकेको छैन । झण्डै ६५ हजार लाभग्राही रहेको गोरखामा गुनासो सुनुवाईको काम अझै पुरा भएको छैन । लाभग्राही कायम भएका एक तिहाई भन्दा बढिले अझै घर नबनाएको प्राधिकरणको तथ्याङ्क छ । बिस्तापित बस्ती, भूमीहिनहरुको अबस्था अझै नाजुक छ ।




















