गोरखा समाचारदाता
गोरखा नगरपालिका २ ताप्लेका मुस्लिम बालबालिकाहरु खुसि भएका छन् । भवन अभावका कारण कष्टकर किसिमले पढ्दै आएका उनीहरु मदरासा विद्यालय भवन बन्ने भएपछि दङ्ग भएका हुन् । ‘भवन नहुँदा बच्चाहरुलाई पढ्न निकै समस्या भएको छ’ स्थानीय समेत रहेका वडा अध्यक्ष रहमतुल्ला मियाँले भने ‘भवन बनेपछि ठूलो राहत हुने विश्वास लिएका छौ ।’
कतार रेडकृसेण्ट र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा बन्ने उक्त भवनको बुधबार एक कार्यक्रमका बिच सामुहिक प्राथना निर्माण सुरु गरिएको छ । ४१ लाख लागतमा निर्माण हुने तिनकोठे भवनको लागि युनडिपिले प्राविधिक सहयोग उपलब्ध गराउने छ । ‘आर्थिक सहयोग कतार रेडकिसन र गोरखा नगरपालिकाले उपलब्ध गराएको हो’ उनले भने ‘प्राविधिक सहयोग भने युएनडिपीले गरेको छ ।’

उक्त भवन निर्माण गर्नका लागि स्थानीय कलामदिन मियाँको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको छ । उक्त समितिले आगामी पुस १५ अथार्त अग्रेजी महिनाको डिसेम्बर मसान्तसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने छ । ‘केही अबरोध भएन भने तोकिएको समय भित्र भवन निर्माण सम्पन्न हुन्छ’ उपभोक्ता समितिका अध्यक्ष कलामदिन मियाँ भने ‘शिलन्यास भइसकेको छ अब धमधम काम गछौं, तोकिएको समयमै भवन बन्छ ।’
पहिले सानो ठाउँमा पुरानो भवनबाट सञ्चालन भएको उक्त मदरसा विद्यालय भवन निर्माणका लागि केही स्थानीयले जग्गा दान समेत गरेका छन् । भवन निर्माणका लागि भन्दै स्थानीय मकबुल मियाँ, अब्दुल मियाँ र कमालदिन मियाँले जग्गा दान गरेका हुन् । यस अघि भवन र जग्गा प्रयाप्त नभएका कारण मदरसा सञ्चालनमा समस्या भएको थियो । ताप्ले मुस्लिम बाहुल्यता भएको ठाउँ हो । त्यहाँका अधिकाशं बालबालिकाहरु मदरसामा आधारभुत तहको शिक्षा लिने गर्छन् ।
नेपाल सरकारले आधारभूत तहको शिक्षालाई मातृभाषामा लिने सक्ने व्यवस्था गरेपनि आवश्यक स्रोत साधन प्रयाप्त नहुँदा मदरासा शिक्षा अझै प्रभावकारी बन्न सकेको छैन ।
तस्बिर रहमतुल्ला मियाँको फेसबुक वालबाट कपी गरीएको


