मोहसिन अलि मियाँ/गोरखा
असोज २९ गते । जिल्ला प्रहरी कार्यालय गोरखाले दसैं, तिहारलाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । चाडवाडमा हुन सक्ने बिभिन्न अपराधिक कृयाकलापलाई रोक्ने उदेश्यले बिशेष सुरक्षा योजना लागु गरेको प्रहरी प्रमुख एवम एसपी बिमल बस्नेतले बताएका छन् । ‘सबैका घरमा दशै भित्रिसकेको छ, गाउँघरमा जनता आउने क्रम सुरु भइसकेको छ’ उनले भने ‘चाडवाडलाई मौका छोपेर बिभिन्न अपराधिक घटना हुन सक्छन्, त्यसलाई मध्यनजर गरेर हामीले शान्ति सुरक्षा कायम गर्न बिशेष योजना बनाएका छौ ।’
शान्ति, सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप हुन नदिनका लागि र सर्वसाधरणलाई शान्तिपूर्ण रुपमा उल्लासपूर्वक चाडपर्व मनाउने वातावरण बनाउने गरी कार्ययोजना कार्यान्वयनमा लागेको जनाएका छ । दशैका बेला जहाँ सुकै सर्वसाधारणले दुख पाउन सक्ने र अपराधिक घटनामा पर्न सक्ने भन्दै प्रहरीले त्यस्ता घटनालाई निस्तेज बनाउन जिल्लाभर प्रहरी गस्ती बढाएको बताएको छ । दशैलाई नै मध्यनजर गर्दै जिल्लामा रहेका ४० वटा प्रहरी युनिटबाट बिशेष गस्ती प्रहरीले सुरु गरेको छ । त्यस्तै जिल्लाका हरेक नाकामा चेकजाँच र निगरानी समेत बढाइएको एसपी बस्नेतकोे भनाई छ ।
सर्वसाधरणले उल्लासपूर्वक दसैं तिहार मनाइरहेको अवस्थामा अपराधिक मनोवृति हावी भएका व्यक्तिहरु सल्बलाउन सक्छन, गोरखाका एसपी बस्नेतले भने ‘शान्ति सुरक्षा सुव्यवस्था गर्नु हाम्रो मात्रै होइन, सर्वसाधारणको पनि उत्तिकै जिम्मेवारी र दायित्व छ, सबैले आफ्नो दायित्व पूरा गरे अपराधिक घटना कम हुन्छन् ।’ त्यस्तै प्रहरीले जिल्लामा बिभिन्न स्थानमा सादा पोसाकमा समेत प्रहरी खटाएको जनाएको छ । ‘हामीले २ वटा बिशेष टाली सादा पोशाकमा खटाएका छौ’ उनले भने ‘अपराधिक घटना घट्न सक्ने केहि सम्भावित स्थानहरुको पहिचान गरेर बिशेष निगरानी पनि बढाएका छौ ।’
चाडवाडको समयमा मानिसको बढी भीडभाड हुने स्थानमा अपराधीले घटना घटाउन सक्ने भएकोले त्यस्ता घटनालाई न्यूनिकरण गर्न प्रहरी तत्पर रहेको एसपी बस्नेतको भनाइृ छ । यस्तै प्रहरीले विशेष सुरक्षा व्यवस्था अन्र्तगत बैंक, बित्तिय संस्था, सार्वजनिक यातायातमा चोरी, पाकेटमारी इत्यादी नहुन दिनका लागि टोली नै खटाएको जनाएको छ । झण्डै २० दिनअघिदेखि चाडवाडलाई लक्षित गरि हरमटारीचोकमा नागरिक सहायता कक्ष संचालन गरेको प्रहरीले गाउँगाउँमा समेत सचेताका कार्यक्रम संचालन गरेको बताएको छ । ‘हामीले हरमटारीमा नागरिक सहायता कक्ष चलाएर त्याहाबाट सचेतना र समस्यामा परेकालाई सहयोग गरिरहेका छौ, जिल्लाभर रहेका अन्य चौकीहरुबाट पनि शान्ति सुरक्षा कायम राख्न स्थानीयसंग छलफल, अन्तरक्रिया बैठकहरु सम्पन्न भइसकेका छन्’ एसपी बस्नेतले भने ।
प्रहरीको पहिलो दायित्व समस्यामा परेका नागरिकलाई सहयोग गर्नु रहेको भन्दै उनले सुचना दिन कन्जुस्याँई नगरिदिन सर्वसाधारणसंग आग्रह गरेका छन् । यस बिषयमा नागरिकलाई सचेत रहन समेत उनको आह्वान छ । त्यस्तै दशैका बेला खुलम खुल्ला रुपमा मदिरा बिक्रि बितरणमा समेत रोक लगाइएको उनले बताएका छन् । चाडवाडलाई मौका छोपेर ब्यवसायिक रुपमा जुवातास खेल्ने, खेलाउनेलाई समेत नियन्त्रणमा लिएर कानुन अनुसार कारबाही गर्ने उनको चेतावनी छ । ‘घर भित्रै परिवारसंग रमाइलोका लागि छुट्टै कुरा हो, तर ब्यवसायिक रुपमै दशैलाई मौका बनाएर कसैले खेलाउछ र खेल्छ भने हामी त्यस्तालाई छोड्दैनौ’ एसपी बस्नेतले भने ‘खुलम खुल्ला रुपमा मदिरा बेच्ने र खानेलाई पनि हामी कारबाही गर्छौ ।’ चाडपर्वको बेला कसैलाई कुनै समस्या परे जिल्ला प्रहरी कार्यालय गोरखालाई कन्ट्रोल रुमको १०० र नजिकको प्रहरी चौकीहरुमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।


