नरेन्द्र ढकाल/गोरखा
असोज २३ गते । जिल्ला सरमुकामको बजारक्षेत्रका व्यवसायीहरुले फुटपाथ अतिक्रमण गरेर व्यापार गरेका छन् । नजिकिदै गरेको दशैको मौका छोपेर ग्राहकलाई आकर्षित गर्नका लागि मानिस हिड्ने सडक पेटीमा खुलेयाम व्यापार हुने गरेको पैदल यात्रुहरुको गुनासो छ । ‘सडकमा हिडौं गाडीको चाप छ, पेटीमा सबै सामानले भरिएको छ’ शक्तिचोकमा भेटिएका पैदल यात्रु रञ्जित ढकालले भने ‘यसरी त दुर्घटना भइहाल्छन नी ।’ सोमबार दिनभर कपडा तथा फेन्सी, मसला पसल, पुस्तक पसल, जुत्ता चप्पल तथा कस्मेटिक सामानका बिक्रेताहरुले सडकपेटी भरी सामान फिँजाएर बिक्रि गरेको देखिन्थ्यो । बिशेषगरी हरमटारी, कालीमाटी, शक्तिचोक, बसपाक लगायत पैदलयात्रुको सबै भन्दा बढि चाप हुने सडकपेटी नै अतिक्रमण गरी व्यापार गरिएको छ । ‘आज भोली त बाटो मै सामान किन्न पाइदो रहेछ’ कालीमाटीमा भेटिएकी सतिपिपलकी सुनिता गुरुङले भनिन् ‘पसलमा भन्दा बाटोमा सामान धेरै छ ।’
गोरखा चेम्बर अफ कमर्सले सस्तो मेला गरेपछि मेला स्थल खेलकुद मैदानमा ग्राहकको चाप बढ्ने डरले उद्योग वाणिज्य सघं समर्थित व्यापारीहरुले पसल भित्रको सामान सडकपेटीमा फिँजाएर सस्तोमा बिक्रि गरेको कतिपयको भनाई छ । ‘अरु बेला यही बजारमा हजार रुपैयाँमा पर्ने सामान अहिले त दुई सयमा पाइदो रहेछ’ हरमटारी चोक भेटिएका अर्जुन लामिछाने भने ‘यो त उद्योग वाणिज्य सघंसँग चेम्बरले प्रतिशोध साँधे जस्तो देखिन्छ ।’

चेम्बर अफ कमर्सले आयोजना गरेको दशै सस्तो बजार एवं सडक मेलाका क्रममा ग्राहक तान्ने होडबाजीले मेला भित्र र बाहिरका व्यापारीको हानथाप छ । सदरमुकामको बजार क्षेत्रका अधिकाशं पसलहरुले विशेष छुटको व्यानार सहित सडक पेटीमा सामान राखेर व्यापार गर्दा समेत नगरपालिका मौन रहेको पैदल यात्रुले आरोप लगाएका छन् । यता गोरखा नगरपालिकाले भने फुटपाथ हटाउन सार्वजनिक सुचना निकाल्ने तयारी गरेको छ । ‘यात्रुलाई असर गर्ने गरी सामान राख्न पाइदैन’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘अतिक्रमण भएको फुटपाथ हटाउन, हामी तल्काल सुचना निकाल्छौ ।’ नेपालीकोहरुको महान चाड दशैमा ग्राहकको चाप बढि हुने भएकाले पसल हाता भित्र पैदल यात्रुलाई असर नगर्ने गरी दशै भरीलाई सामान राख्न छुट दिने भनिएता पनि सडकपेटी अतिक्रमण गर्ने छुट नगरपालिकाले नदिएको उनले बताए । ‘कहाँ, कहाँ सडकपेटीमा सामान राखेर फुटपाथ अतिक्रमण गरिएको छ त्यसको पनि अनुगमन सुरु गर्छौं र सँगै हटाउन प्रक्रिया पनि सुरु हुन्छ’ नगरप्रमुख पन्तले भने ।
चाडपर्वलाई लक्षित गर्दै फुटपाथमा सामान राखेर व्यापार गर्ने क्रम बढेपछि गोरखामा सवारी दुर्घटनाको जोखिम बढेको छ । सडकपेटी सामान र ग्राहकले खचाखच भएपछि अन्य पैदलयात्रु भने जोखिम मोलेर सडकबाट हिड्न बाध्य भएका छन् । बिहान ११ बजेबाट २ बजेसम्म यो समस्या सबै भन्दा बढि देखिएको छ । त्यस माथि जथाभावी हुने पार्किङले पनि समस्या बढाएको छ । ग्रामिण कच्ची सडकमा चल्ने बस छुटेपछि भने बजारमा चाप कम हुने गरेको यात्रुहरु बताउँछन् । केही दिन देखि जिल्ला सदरमुकाममा सर्वसारणको चहलपहल बढेको छ । ग्रामिण कच्ची सडकमा सवारी सञ्चालन भएसँगै दशैको लागि अत्यावश्यक सामाग्री किन्नेहरु सदरमुकाम आउने क्रम सुरु भएको हो । दशै सस्तो बजार एवं सडक मेलाले पनि सर्वसाधरण आर्कषित भएका छन् ।




















