गोरखा — भदौ २३ शनिबार । चमुनुव्री गाउँपालिका १, सामागाउँबाट उडेको अल्टिच्युड एयरको हेलिकप्टर बिहान ८ बजे बेपत्ता भएको खबर आयो । पाइलटले सुरक्षित अवतरण गरे वा दुर्घटनामा पर्यो भन्ने डेढ–दुई घण्टासम्म पत्ता लागेन ।
डोल्मा भदौ २३ को त्यो दिन सम्झन पनि चाहन्नन् । सम्झँदा अहिले पनि उनको मुटु काम्छ । ‘सामागाउँबाट उडेको केहीबेरमै हेलिकप्टर कालो बादलभित्र पस्यो । बादलभित्र झन्–झन् माथि उड्यो, अगाडि केही देखिएन,’ उनी भन्छिन्, ‘केमा हो ठोक्किएजस्तो लाग्छ । त्यसपछि केही थाहा पाइनँ ।’
दुर्घटनास्थलभन्दा करिब डेढ सय मिटर पर अर्धअचेत अवस्थामा उनी खसेकी थिइन् । ‘प्यास लागेर पानी–पानी भनेर कराएको याद आउँछ,’ उनले भनिन्, ‘जंगलबीचको सुनसान ठाउँमा सिमसिम पानी परिरहेको थियो । नजिकै मोबाइल खसेको रहेछ । सबैभन्दा पहिले बाबालाई फोन गरेँ ।’
आफ्नो अवस्था बताएर बचाउन अनुरोध गरेको उनले बताइन् । काठमाडौं हिँडेकी छोरी जंगलको बीचमा रहेको थाहा पाएपछि चुमनुव्री– २, ल्होमा रहेका पिता निल्दा लामाले छोरा दाबा ग्याल्जेनलाई खबर गरे । दाबाले तत्कालै डोल्माको मोबाइलमा फोन गर्दा उही आवाज आयो, ‘जंगलको बीचमा छु, बचाऊ ।’ केहीबेरमा डोल्माको फोन लाग्न छाड्यो । ‘हेलीमा आएकी डोल्मा पक्कै एक्सिडेन्ट परी भनेर लख काटेँ,’ दाबाले भने, ‘हामीले एयरपोर्ट गएर जानकारी गरायौं । अनि हल्लाखल्ला सुरु भयो ।’ सुरुमा एयरपोर्टका कर्मचारीले मौसमको खराबीले पाइलटले कुनै ठाउँमा हेलिकप्टर ल्यान्ड गरेको हुन सक्ने अनुमान गरे । सम्पर्कविहीन हेलिकप्टर खोज्न एयरपोर्टका कर्मचारीको दौडधुप सुरु भयो ।
उता सुनसान ठाउँमा डोल्माले बचाउन गरेको बिलौना सुन्ने कोही थिएनन् । हराएको हेलिकप्टर खोज्न एयरपोर्टबाट अर्को हेलिकप्टर परिचालन गरिएको थियो । ‘म उठ्न सक्ने अवस्थामा थिइनँ, शरीर जहाँ छोयो, त्यहीँ दुखिरहेको थियो,’ डोल्माले भनिन्, ‘धेरै बेरपछि हेली आएर आकाशमा कराएको सुनेपछि अबचाहिँ बचाउँछन् जस्तो लाग्यो ।’
झन्डै ७ घण्टापछि उनको उद्घार भयो । उद्घारपछि अस्पताल पुर्याउँदा डोल्मा बोल्न सक्ने अवस्थामा थिइनन् । ‘२३ गते एक्सिडेन्ट भएको, २६ गते मात्र अलि–अलि हामीसँग बोल्नुभयो,’ दाबाले भने, ‘सुरुमा त यता नि दुख्छ, उता नि दुख्छ भन्दै देखाउनुहुन्थ्यो ।’ अहिले स्वास्थ्यमा निकै सुधार भएको उनले बताए । १२ दिन आईसीयूमा राखेपछि अहिले उनलाई बेडमा सारिएको छ । स्वास्थ्यमा सुधार आएसँगै अहिले उनी परिवारका सदस्यसँग कुरा गर्न थालेकी छन् ।
बिहीबाट मनास्लु पदमार्ग हुँदै तीन दिन हिँडेपछि आरुघाट पुगिन्छ । आरुघाटबाट काठमाडौंका लागि यात्रुवाहक बस छुट्छ । तर, बर्खा लागेसँगै मनास्लु पदमार्गको यात्रामा जोखिम थपिन्छ । ठाउँ–ठाउँमा पहिरो गएका छन् भने भीरबाट ढुंगा खसेको छ । ‘सुरुमा पैदलै आरुघाट पुग्ने अनि त्यहाँबाट काठमाडौंको बस चढ्ने सल्लाह भएको थियो,’ उनका भाइ दाबाले भने, ‘सामागाउँबाट सिट खाली छ भनेर फोन आएपछि हेलिकप्टरमा आउनुभएको थियो ।’
सडक सञ्जालले नछोएको चुमनुव्री गाउँपालिकामा आकस्मिक उद्घार तथा आउजाउका लागि पनि उक्त भेगका बासिन्दा हेलिकप्टर चढ्छन् । बिहीको सेराङ गुम्बामा पढाउँदै आएकी डोल्मा अमेरिकाबाट आएका दाजुलाई भेट्न काठमाडांै हिँडेकी थिइन् । पैदलमार्ग असुरक्षित भएपछि सेराङ गुम्बाबाट दुई दिन उकालो हिँडेर सामागाउँ पुगेको उनले बताइन् ।
उनी पूरै निको हुन अझै चारदेखि ६ महिना लाग्ने चिकित्सकले बताएका छन् । ‘कम्मर र खुट्टाको हड्डी केही चर्किएको र केही भाँचिएको छ, छातीको हड्डी पनि भाँचिएको भनेका छन्,’ दाबाले भने, ‘सुरुमा टाउकामा रगत जमेको छ भन्थे ।’
स्वास्थ्य खतरामुक्त रहेको र हड्डी जोडिन समय लाग्ने चिकित्सकले परिवारका सदस्यलाई बताएका छन् । ‘अझै कम्तीमा तीन साता बेडमै राख्नुपर्छ भनेका छन्,’ दाबाले भने, ‘त्यसपछि ह्वीलचियरमा राखेर हिँडाउन सकिन्छ कि, त्यस्तो नभए सर्जरी गर्ने कुरा भएको छ ।’
उपचार खर्च हेलिकप्टर कम्पनीको इन्सुरेन्सबाट आउने जानकारी आएको उनले बताए । हालसम्म डोल्माको उपचारमा करिब १३ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ ।
kantipur


