नरेन्द्र ढकाल/गोरखा
असोज १७ गते । जिल्ला कारागारमा गोरखामा जबरजस्ती करणी शिर्षकमा मुद्दा खेप्ने कैदीबन्दीको संख्या सबै भन्दा धेरै पाइएको छ । पछिल्लो समय देशभर बलत्कारका घटना बढेको समाचार सार्वजनिक भई रहेको बेला गोरखा कारागारमा मात्र २३ जनाले जबरजस्ती करणी शिर्षकमा कैद भुक्तानी गर्दै रहेको जिल्ला कारागार गोरखाका प्रमुख शशि सुवेदीले जानकारी दिए ।
उक्त शिर्षकमा २ जना थुनुवा समेत रहेपनि उनीहरुको अदालतले पैmसला गर्न बाँकी छ । जिल्ला कारगारमा रहेका ७५ कैदी बन्दी मध्ये एक तिहाई जबरजस्ती करणी शिर्षकमा मुद्धा खेपिरहेका छन् । ५० जना कैदी क्षमताको उक्त कारगारमा अहिले ७५ जना कैदीबन्दी छन् । ति मध्ये कर्तव्य ज्यान मुद्दामा १९ जना कैदी र ७ जना थुनुवा छन् । ७ थुनुवा मध्ये ४ जना महिला रहेको कारागार स्रोतको भनाई छ ।
यसैगरी चोरी, डाँका, नकवजनी चोरी शिर्षकमा ६ जना कैदी र १ जना थुनुवा, ज्यान मार्ने उद्योगमा १ जना, जिउ मास्ने बेच्नेमा ३ जना र वन ऐनमा १ जनाले कैद सजाय भोगिरहेका छन् । यसैगरी बहुबिवाहमा ४ जना, सवारी ज्यान शिर्षकमा ३ जना र गौवधमा १ जना गरी ६१ जना कैदी रहेका छन् ।
विभिन्न शिर्षकमा कसुर गरेको आरोप लागेका तर अदालतले फैसाला नसुनाएका १४ जना थुनुवालाई पनि उक्त कारागारमा राखिएको छ । ५० जना क्षमताको जिल्ला कारागारमा ५३ जना कैदी, १४ जना थुनुवा पुरुष र ८ जना कैदी महिला रहेको कारागार प्रसाशनले जानकारी दिएको छ ।
२०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले क्षतिपुगेको कारागार पुर्ननिर्माणको लागि शहरी बिकास तथा भवन डिभिजन कार्यालयले प्रक्रिया अगाडी बढाएको छ । जोखिमयुक्त घरमा क्षमता भन्दा बढि बन्दी राख्नुपर्दा उनीहरुलाई समस्या हुने गरेको छ ।




















