नरेन्द्र ढकाल/गोरखा
पालुङटार नगरपालिका ५ रानीस्वाँरा भूकम्प पिडितले घर बनाएको लामो समय भइसक्दा समेत तेश्रो किस्ता पाएका छैनन् । सरकारी मापदण्ड अनुरुप घर बनाएको पनि तेश्रो किस्ताको रकम पाउन नसक्दाँ घर छाउन नसकिएको उनीहरुको गुनासो छ । ‘अहिलेसम्म डढे लाख ऋण भइसकेको छ, तेश्रो किस्ता पाए छानो हाल्न हुन्थ्यो’ स्थानीय मेघबहादुर गुरुङले भने ‘पैसा नभएर छानो छाउन पाइएन ।’ पहिलो र दोश्रो किस्ताले निर्माण सामाग्री किनेर घर बनाएका उनले जस्ता किन्ने पैसा नहुँदा घर निर्माणको काम अलपत्र भएको गुनासो गरेका छन् । उनको घर गारो लगाउने काम सकिएको छ भने अब छाना हाल्न मात्र बाँकी छ । ‘किस्ता पाए दशै अघि छाना छाउनु हुन्थ्यो’ उनले भने ‘यदी छाउन सकिएन भने यस वर्षको दशै पनि टहरामै मनाउनु पर्ने भो ।’
सोही ठाउँका मंगलबहादुर गुरुङको पनि समस्या उस्तै छ । साउन अघि नै घर बनाइसकेका मंगलले पनि तेश्रो किस्ता पाएका छैन । ऋण काडेर घर बनाएका उनी तेश्रो किस्ता पाए शौचालय बनाउने योजना सुनाउँछन् । ‘साहु तिर्नु धेरै छ, घर त बनाइयो, पैसा नभएकाले ट्वाइलेट बनाउन पाएको छैन’ उनले भने ‘तेश्रो किस्ताको रकमले बनाउँला भनेर कुरेको पनि तिन महिना हुन लाग्यो तर पैसा आएन ।’
पालुङटार ५ रानीस्वाँरा कै नबराज गुरुङले झण्डै ९ लाख लगानीमा भूकम्प गए लगतै नयाँ घर बनाए । उनको घरले दोश्रो किस्ताको रकम पनि सजिलै पायो तर अहिले सम्म तेश्रो किस्ता भने प्राप्त हुन सकेको छैन । ‘यो घर भएन भने यो भएन भन्नु प¥यो जहिले पनि हुन्छ÷हुन्छ भनुहुन्छ’ उनले भने ‘वडा कार्यालय र बैंक धाउदा धाउदै यतिका दिन बित्यो ।’ त्यहाँका अधिकाशं भूकम्प पिडितले वडा कार्यालयको लापरवाहीका कारण आफूहरुले किस्ता रकम नपाएको गुनासो गरेका छन् । घरको छाना नबनाएसम्म तेश्रो किस्ता सिफारिस नगर्ने वडा कार्यालयको निर्णयका कारण अनुदान पाउन समस्या भएको उनीहरुको भनाई छ ।
यता पालुङटार ५ का अध्यक्ष दिपक पाण्डेले भने वडा कार्यालयले छुट्टै नियम नबाएको दाबी गरेका छन् । ‘प्राधिकरण नीति नियमका अलवा हामीले कुनै नियम बनाएका छैनौं’ उनले भने ‘छाना नछाएसम्म तेश्रो किस्ता सिफारिस नगर्ने कुनै निर्णय भएको छैन, प्राधिकरणको गाइडलाइन अनुसार नै काम भइरहेको छ ।’ सरकारले बनाएको मापदण्ड र नीति नियम विपरित कुनै पनि काम नगर्ने उनको दाबी छ । सरकारको संरचना र कार्यालयहरु हेरफेर हुँदा किस्ता रकम आउन ढिलाई भएको उनले बताए । ‘नयाँ आर्थिक वर्षको सुरु मै काम हुन सकेन, जिससले एक महिना रकम नै पठाएन’ उनले भने त्यसैका कारणले केही ढिलाई भएको हो, आशा छ अब उहाँहरुले छिट्टै रकम पाउनुहुनेछ ।’ यस अघि जिल्ला समन्वय समितिबाट हुँदै आएको रकम वितरतणको काम राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ गुनासो व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय मार्फत गर्ने निर्णय भएपनि रकम अख्यितारी आउन ढिलाई हुँदा साउन महिना भरी जिल्ला भर किस्ता वितरणको काम रोकिएको थियो । रकम अख्तियारी आएको पनि लामो समय भइसकेकाले केही दिनमै तेश्रो किस्ता प्राप्त हुने विश्वास पाण्डेको छ ।
भूकम्प गएको ४० महिना बितिसक्दा पनि जिल्लामा आधा घर पुर्ननिर्माण हुन सकेका छैन । सरकारीकार्यालयको ढिलासुस्ती, विभिन्न प्राविधिक समस्या, कार्यालय समायोजन लगायतका कुराहरुले अनुदान वितरणको काम चुस्तदुरुस्त हुन सकिरहेको छैन । त्यसका मारमा निमुखा भूकम्प पिडितहरु परिरहेका छन् । यो समस्या पालुङटारमा मात्र नभएर अयन्त्र पनि रहेको पिडितको गुनासो छ ।
तेश्रो किस्ता नपाउँदा घर निर्माणले पूर्णता पाउन सकेन
तेश्रो किस्ता नपाउँदा घर निर्माणले पूर्णता पाउन सकेन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















