- यात्रुको हुलिया हेरेर बार्गेनिङ्ग
मोहसिन अलि मियाँ/गोरखा
असोज ११ गते । रातीको ८ बज्दै थियो । गोरखा नगरपालिका वडा नम्बर ६ छहरेमा एक बृद्धा ट्याक्सीाबाट ओर्लिइन् । साँझ झमक्कै परिसकेकाले नजिकैको मानिस पनि चिन्न सक्ने अवस्था थिएन । बृद्धाले झोलामा हाल हाल्दै ट्याक्सी चालकलाई सोधिन् ‘भाडा कति दिउ बाबु ?’ उनको बोली भुँइमा खस्न नपाउदै चालकले बोले हजार रुपैया दिनस् न आमा ।
बृद्धा एकछिन अलमलमा परिन अनि भनिन्, बाबु दिउँसो जादा त ३ सय तिरेको थिए । अहिले कसरी १ हजार भयो ? झोक्किदै जवाफमा ति चालकले भने रात परिसक्यो आमा, खुरुक्क हजार दिनुस मलाई हतार भइसक्यो । त्यति कुरा हुदा ४÷५ जना जम्मा भइसकेका थिए । ति आमाले ५ सयको नोट निकालेर २ सय फिर्ता देउ भन्दै चालकलाई दिइन तर उनले अरु कुनै जवाफ नदिई ५ सय लिएर ट्याक्सी लिएर गयो ।
यो त प्रतिनिधीमुलक घटना मात्रै हो । गोरखामा संचालन भएका अधिकांश ट्याक्सीले यात्रुको हुलिया हेरेर भाडामा बार्गेनिङ्ग गर्ने गरेको पाइएको छ । बिहानदेखि साँझ नपरुञ्जेल एउटा भाडादर र साँझ परेपछि दोब्बर÷तेब्बर भाडा लिने गरेको गुनासो आएको छ । तर दिनदहाडै बजार क्षेत्रमा यात्रुहरु खुलेआम ठगिदा प्रहरी प्रशासन भने मौन देखिएको छ । ‘अस्ति बिहान खैरेनी जादा ११ सय लिएका थिए, बेलुका फर्किदा त १७ सय नदिए जान्न भने, के गर्नु अरु विकल्प थिएन, रात परिसकेको थियो, नदिई सुखै भएन’ सदरमुकाममा भेटिएका विष्णु थापाले भने ‘यस्तो त कति भोगेको कति, ट्याक्सी ड्राइभरले मान्छे र मौका हेरेर भाडा भन्छन् ।’
जिल्लामा गोरखा मनकामना यातायात प्रालि मार्फत ४७ वटा र मनासलु यातायातका ७ गरी ५४ वटा भाडाका ट्याक्सी सञ्चालनमा रहेका छन् । केहि बर्षअघि नै ट्याक्सीको भाडा दर निर्धारण भएपनि उनिहरुले त्यसको पालना गरेका छैनन् । उनिहरुले भाडादर यात्रुले देख्ने गरी अनिबार्य टाँस्नुपर्ने भएपनि त्यसको समेत कार्यान्वयन भएको देखिदैन । त्यस्तै जिल्लामा भाडाका मात्रै होइन निजी रातो प्लेटधारी ट्याक्सीको समेत दादागिरी उत्तिकै छ । उनिहरुले हरमटारी, बसपार्क, अस्पतालचोक, बाह्रकिलो लगायतका क्षेत्रबाट खुलेआम यात्रु बोक्ने गरेका छन् । स्रोतका अनुसार रातो प्लेट भएका तर लुकिछिपी भाडामा लगाउने ट्याक्सी÷कार बजार क्षेत्रमा २५ वटा भन्दा बढि छन् ।
बिभिन्न बाहानामा कालो र रातो प्लेटधारी ट्याक्सीले खुलेआम यात्रु र समय हेरेर भाडा असुल्ने गरेको पाइएको छ । तर गोरखा मनकामना यातायात प्रालिका उपाध्यक्ष तारा बहादुर खड्का भने कालो प्लेट भएका ट्याक्सीले त्यसो नगरेको दावी गर्छन् । ‘२०६४ सालमा जुन भाडा निर्धारण भएको थियो अहिले पनि त्यसै अनुसार चलाइरहेका छौ, बढी लिएका छैनौ’ उनले भने ‘अहिलेसम्म हामीलाई कुनै कम्प्लेन आएको छैन, कसैसंग लिएको भए प्रहरीलाई भनेर कारबाही गर्दा हुन्छ ।’
दिन रात कुनै पनि बेला निर्धारण भएको भन्दा बढि भाडा लिने अधिकार चालकसंग नभएको भन्दै प्रालिका उपाध्यक्ष खड्काले भन्छन् ‘बढि भाडा लिने ट्याक्सीलाई समातेर कारबाही गर्नुस भनेर हामीले ट्राफिकलाई बारम्बार भनेका छौ ।’ उनका अनुसार प्रशासनले ध्यान नदिदा रातो प्लेटवाला ट्याक्सीले यात्रु बोक्ने गरेको र दिनानुदिन त्यस्ता ट्याक्सी समेत बढ्दै गएको बताएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भने यस बारे आफुले दिनदिनै ट्राफिकलाई भन्न लगाएको बताएका छन् । ‘भाडा बढि लियो भनेर केहि मान्छेले मलाई पनि भनेका छन्, मैले ट्राफिकलाइ सधै भन्न लगाएको छ, उहाँहरुले निगरानी गरिरहनु भएको छ’ उनले भने ‘तोकेको भन्दा बढि भाडा लिन पाइदैन, त्यस्तो भेटिए हामी कडा कारबाही गर्छौ ।’ केहि दिन अघि रातो प्लेटवाला ट्याक्सी चालकहरुलाई बोलाएर यात्रु नबोक्न भनेको भन्दै प्रजिअ भट्टराईले अवज्ञा गरे तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने बताएका छन् । उनि भन्छन् ‘जिल्लामा ट्राफिक प्रहरीको संख्या समेत कम छ, धेरै तिर हेर्नुपर्ने हुन्छ, केहि प्रावधिक समस्या भने छ, त्यसलाई हल गरेर कडाईका साथ कार्यान्वयनमा जादैछौ ।’




















