गोरखा समाचारदाता
यातायात मजदुरको आन्दोलनका कारण गोरखा सहित देशभरको सार्वजानिक यातायात ठप्प भएका छन् । भदौं १ गतेबाट सञ्चालनमा आएको फौजदारी तथा देवानी सहिंचाको बिरोध गर्दै आन्दोलन सुरु भएको हो । उक्त ऐन संशोधनको माग गर्दै यातायात मजदुरहरुले देशभरको सार्वजानिक यातायात ठप्प पारेका छन् । आन्दोलनका कारण गोरखाको यातायात सेवा पनि प्रभावित भएको छ ।
विहीबार जिल्ला सदरमुकामबाट चल्ने र भित्रिने सवारी साधनहरु निर्वाध रुपमा चल्न सकेनन् । गोरखाका केही सवारी चालकहरुले यातायात सञ्चालन गर्ने तयारी गरेपनि अरु जिल्लामा बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाएका पछि उनीहरु पनि पछि हटेका हुन । बन्दका कारण विभिन्न जिल्लामा सार्वजनिक यातायातका साधनहरु निकै कम चलेका छन् ।
सडकका गुडेका सवारीहरुलाई रोक्ने र विभिन्न ठाउँमा जुत्ताको माला लगाएर मानमर्दन गर्ने काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । यातायात सञ्चालन हुन नसक्दा जरुरी कामले हिढेकाहरु मर्कामा परेका थिए । यात्रुबाहक सवारी नचलेपछि गोरखाका ट्क्यासी व्यवासयीहरुले भने मौका छोपेको गुनासो आएको छ ।
जिल्ला सदरमुकाम, १२ किलो, घ्याम्पेसाल चोकबाट यात्रु ओसारका ट्याक्सीहरुले मनपरी भाडा असुलेका हुन् । पक्की सडकमा ट्याक्सीले यात्रु ओसारे पनि कच्ची सडक भएर गाउँजाने यात्रुहरु भने यातायात बन्दबाट बढि समस्यामा परेका छन् ।




















