गोरखा समाचारदाता
अबैध सुन भेटिएको केही दिन बित्न नपाउँदै उत्तरी गोरखामा फेरी चाँदी फेला परेको छ । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिबासको जगत गरिएको चेकजाँचका क्रममा प्रहरीले १ किलो ४१० ग्राम चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सोही गाउँपालिकाको वडा नम्बर ७ बस्ने साङ्के दोर्जे लामाले बोकी ल्याएको झोला खानतलास गर्दा २० थान चाँदीको बाला र १ थाना क्यानचिन नाम गरेको चाँदीको गहना भेटिएको हो । उत्तरी गोरखाबाट आरुघाट तर्फ आउँदै गरको ३५ वर्षिय साङ्केले उक्त चाँदी कहाँबाट ल्याएका हुन र कहाँ लैजान लगिएको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
केही दिन अघि पनि चुमनुव्री गाउँपालिका वडा ३ स्थित सिर्दिबासबाट १० किलो अबैध सुन सहित २ युवक पक्राउ परेका थिए । पछिल्लो समय सुनचाँदीका अबैध कारोबारीहरुले गोरखाको नाकालाई प्रयोग गर्दै आएको भेटिएको छ । ओसारप्रसारमा संग्लन व्यक्तिहरु प्रक्राउ परे पनि व्यापारिक गिरोह भने समातिन सकेको छैन ।
छिमेकी मुलुक चिनबाट अबैद्य रुपमा ल्याइएको सुन उत्तरी गोरखाको मनास्लु हुँदै आरुघाटबाट धादिङको बाटो भएर काठमाण्डौ एवं देशका विभिन्न सहरमा पु¥याउने गरिरहेको आशंका गरिएको छ ।




















