गोरखा समाचारदाता
अज्ञात समूहले गुम्दाको एकै परिवारका तिन जनालाई बेहोस बनाई फरार भएका छन् । बुधबार राती मुखमा माक्स लगाएर आएका दुई अपरिचित व्यक्तिले नसालु पदार्थ सुँघाएर धार्चे ५ गुम्दाका ८१ वर्षिय रामबहादुर गुरुङ, उनकी श्रीमती ७१ वर्षिय लक्ष्मी गुरुङ र ३० वर्षका छोरा कान्छा गुरुङलाई बेहोस बनाएर फरार भएको वडा अध्यक्ष तुलबहादुर गुरुङ जानकारी दिए । ‘राती सुत्ने बेलामा मुखमा माक्स र क्याप लगाएका दुई जना मान्छे त्योे घरमा आएका रहेछन्’ वडा अध्यक्ष गुरुङले भने ‘अहिले स्र्पे छरेर बहोस बनाएछन् ।’ सोही दिन गुम्दाका जेष्ठ नागरिक नरबहादुर गुरुङ निधन भएको थियो ।
गाउँले सबै अन्तिम संस्कार व्यस्त भइरहेका बेला ती व्यक्ति नरबहादुरको घरमा पसेका थिए । ८१ वर्षका नरबहादुर शारिरीक रुपमा अशक्त भएका कारण घरमै सुतिरहेका थिए । उनका छोरा कान्छा पनि घर मै थिए । श्रीमती लक्ष्मी भने मान्छे मरेको घरमा गएकी थिइन । ‘उहाँ फर्कदा दुई जना अपरिचत मानिस घरमा बसिरहेका रहेछन, छोरा र बुढा भने सुतिरहेका थिए’ वडाका सदस्य कर्मा माईला गुरुङले भने ‘उनीहरुले उहाँलाई पनि बेहोस बनाएछन् ।’
नचिनेका मानिस राती घरमा देखेपछि लक्ष्मीले को भनेर सोध्दा उनीहरु बोलेनन् । उनले दिउँसो आलु उसिनेर राखेकी थिइन । उक्त आलु खान दिदाँ उनीहरुले टाउको मात्र हल्लाए तर बोलेनन् । अनि उनलाई शंका लाग्यो र घरको तलामा गएर गुहार मागिन । त्यसको केही समयपछि छिमेकी पुग्दा घरका सदस्य सबै बहोस अबस्था भेटिएका थिए ।
दुई जना मानिस आँगनमा मोबाइल चलाएर बसिरहेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै वडा सदस्य गुरुङले बताए । ‘त्यसपछि उनीहरु भागेछन, को मानिस हुन् ? कहाँ बाट आए ? अनि किन त्यसो गरे केही बुझ्न सकेका छैनौं’ उनले भने । उनीहरु सबै बेहोस भएपछि घरको विभिन्न सामाग्री खान तलासी गर्नुका साथै घरको ढोका नजिकै खरानी घेरो लगाएका थिए । निकै रहस्मय घटना भएपछि अहिले गुम्दाका स्थानीय त्रसित भएका छन् । घटना बारे थाहा पाएका स्थानीयले बिहाबार बिहान प्रहरी चौकीमा खबर गरेका थिए ।
घटना स्थलमा पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ । फरार व्यक्तिको खोजतलास भइरहेको प्रहरीले बताएको छ । बेहोस भएकाका तिनै जनाको होस खुलेको र स्वास्थ्य अवस्था समान्य रहेको वडा सदस्य गुरुङले बताए ।




















